मकवानपुर । उच्चशिक्षालाई उच्च प्रामथिकता दिदै मकवानपुरकाे एउटा वडा कार्यालयले विद्यार्थीलाई क्याम्पस जान नि:शुल्क बस सेवा प्रदान गर्ने भएकाे छ । यसकाे लागि सम्बन्धित वडाकाे स्थायीवासी हुनुपर्ने छ ।
यसकाे लागि वडा कार्यालयले सार्वजनिक सूचना प्रकाशित गरेकाे छ । मकवानपुरकाे हेटौडा उपमहानगरपालिकाबाट वडा नम्बर १८ ले क्याम्पस पढ्ने बिद्यार्थीहरुलाई बसभाडाकाे समस्या भएमा वडा कार्यालयले सहयाेग गर्ने भएकाे हाे । हेटौडा बजार पुग्न दैनिक १८ किलोमिटरको यात्रा गर्नुपर्दा वडावाट उच्च शिक्षा लिन हेटौडा बजार ओहाेर दाेहाेर गर्ने विद्यार्थीले दैनिक चर्को बसभाडा खर्च गर्नुपर्ने अवस्थालाई वडाले सम्बाेधन गर्न लागेकाे हाे ।

भाडाकै कारण क्याम्पस पढ्न समस्या नहाेस भनेर वडा कार्यालयले याे याेजना अघि सारेकाे वडाध्यक्ष अनिल बानियाँले बताए । वडाध्यक्ष बानियाँका अनुसार वडाले निर्णय नै गरेर कक्षा ११ देखि स्नातकोत्तरसम्म पढ्ने वडाभित्रका विद्यार्थीको हेटौडा आउजाउको भाडा तिर्ने निर्णय भएको छ । यसै वडामा कक्षा १२ सम्म अध्यापन हुने ज्याेती मावि छ ।
वडाबाट हेटाैंडा नआइपुग्दै जनप्रिय मावि प्राविधिक विद्यालय पनि हेटाैंडा १६ मा छ । तर हेटाैंडा बजारमै आएर आफूले राेजेकाे विषय पढीरहेकाहरुकाे सहजताकाे लागि वडाले याे याेजना अघि सारेकाे बताइएकाे छ ।
वडा कार्यलयले स्थानीय यातायात व्यवसायीसँग सहकार्य गर्ने याेजना बनाएकाे छ । हाल हर्नामाडीदेखि हेटौडा आवतजाआत गरेकाे भाडा प्रतिव्यक्ति ८० रुपैयाँ भाडा लिने गरेकाे छ ।
वडा कार्यालयको यो निर्णयसँगै अब वडाभित्रका ७५ जना भन्दा वढी विद्यार्थी निःशुल्क बस चढेर हेटौडासम्म अध्ययन गर्न सक्ने भएका छन् । वडामा जम्मा ४ वटा सामुदायिक विद्यालयमा कक्षा १० सम्म पढाइ हुन्छ । वाणिज्य, मानविकी र शिक्षा संकायका विषयमात्र पढाइ हुने र अन्य विषय पढ्न चाहने विद्यार्थीले हेटौडा बजारका क्याम्पससम्मै पुग्नुपर्ने बाध्यता छ । उपमहानगरपालिकाले एमविविएस पढ्न हरेक विद्यार्थीलाई ५ लाख रुपैयाँ सहयोग गर्दै आएकामा यस वर्षदेखि आफ्नो वडाले पनि १ लाख रुपैयाँ दिने नीति लिएको अध्यक्ष बानियाँले बताए । यसपटक याे वडाबाट २ जना एमविविएस पढ्न छानिएका छन् ।

