मकवानपुर । मकवानपुर बागमती गाउंपालिका ५ सिक्रे दोभानमा पहिरोले घर बगाउँदा बेपत्ता भएका मध्ये अर्काे १ जना मृत अवस्थामा भेटिएका छन् । मंगलबार बिहानकाे पहिरोमा परेर बेपत्ता भएका मध्ये ८ महिनाकी दिब्या पहरी मृत भेटिएकाे प्रहरीले जनाएकाे छ ।
विहीबार ६:४८ बजेको समयमा जिल्ला सिन्धुली हरिहरपुर गाउँपालिका ३ बनौलीस्थित बागमती खोलाको किनारमा दिब्या मृत भेटिएकाे मकवानपुर प्रहरी प्रवक्ता टेक बहादुर कार्कीले जानकारी दिए । पहिरोमा बगाएका बागमती गाउँपालिका-५ सिक्रे दोभानका ६० वर्षीय अक्कलबहादुर स्याङ्तान ज्वाई २५ बर्षीय जीवन पहरी, नाती ४ बर्षीय मिलन पहरी अझै बेपत्ता छन् । उनीहरुको खोजी कार्य भइरहेको कार्कीले बताए ।
सोमबार रातिदेखि परेको अबिरल वर्षाको कारण मंगलबार साउन २३ गते बिहान ४ बजेको पहिरोले घर बगाउँदा ७ जना बेपत्ता भएकाेमा अक्क्ल बहादुरकी श्रीमती ५५ बर्षीया सन्त माया स्याङ्तानकाे मंगलबार विहानै उद्दार गरी फापरवारीस्थित स्वास्थ्य संस्थामा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियाे ।
पहिरोले स्याङ्तान, उनकी २२ वर्षीया छोरी शिला पहरी , ज्वाइँ २५ वर्षीय जीवन पहरी, नाती ४ वर्षीय मिलन पहरी, ८ महिनाकी नातिनी दिब्या पहरी र सिन्धुली हरिहरपुर गाउँपालिका-१ कोकटीका अन्दाजी १६/१७ वर्षका पासाङ घिसिङलाई बगाएकाे थियाे ।
पहिराे परी बेपत्ता भएका सिन्धुली हरिहरपुर-१ कोकटीका बस्ने १७ बर्षीय पासाङ घिसिङकाे मात्रै जीवित उद्दार गरिएकाे छ । घिसिङकाे हेटौडा अस्पतालमा उपचार भइरहेकाे छ ।

