मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा ५ कार्यालयले छात्राहरूको लागि महिनावारी प्याड वितरण गरेको छ ।
वडा कार्यालयले १ लाख २५ हजार लगानीमा खरिद गरेको महिनावारी प्याड वडा भित्र रहेको बालज्योती मावि र लक्ष्मी माविलाई वितरण गरेको हो ।
कार्यालयले जम्मा २१ कार्टुन ( प्रती कार्टुन ९६ प्याकेज) महिनावारी प्याड खरिद गरेको थियो । जसमध्ये छात्रा संङ्ख्याको आधारमा बालज्योति माविलाई १० कार्टुन र लक्ष्मी माविलाई ६ कार्टुन वितरण गरिएको वडा सदस्य रन्जिता सिलवालले बताइन् ।
विद्यालयबाट वितरण गर्दै आएको महिनावारी प्याडले छात्राहरूलाई नियमित कक्षामा उपस्थित हुन धेरै मद्दत गरेको बालज्योती मावि पिप्लेका विद्यालय व्यवस्थापन समिती अध्यक्ष रबिन्द्र पोखरेलले बताए ।
वडा कार्यालयले पिप्ले शहरी स्वास्थ केन्द्रमा कर्मचारी तथा सेवाग्राहीहरूलाई समेत सहयोग हुनेगरी हाललाई १ कार्टुन प्याड उपलब्ध गराएको छ ।
यसैगरी ५ नम्बर कार्यालयमा पनि कर्मचारी तथा सेवाग्राहीलाई समेत प्रदान गर्ने गरि ४ कार्टुन प्याड राखिएको सिलवालले बताइन् । “सेवाग्राहीहरू कहिले काहीँ धेरै समस्यामा पर्ने गरेको थाहा पाएको छु”सिलवालले भनिन् “उहाँहरूलाई समेत सहायता होस् भनेर हामी अब यस्तो सेवा पनि दिने योजना बनाएका हौं । “
प्याड वितरण कार्यक्रममा वडा सदस्यहरू ज्ञानबहादुर थापा, रामबहादुर राई, रन्जिता सिलवाल, भगवती बि.क, वडा सचिव अनिता भट्टराई, बिद्यालयका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

