मकवानपुर । दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’ को नेपाल वितरक श्री व्यंकटेस इन्टरटेनमेन्टले नेपालका हलमा फिल्म प्रदर्शन बन्द गरेकाे छ । देशभरबाट ‘आदिपुरुष’ नचलाउने खबरहरु आइरहेको समय यो फिल्मको नेपाल वितरक श्री व्यंकटेसले सिनेमा घरहरुमा फिल्म नचलाउने निर्णय गरेको हाे ।
कम्पनीले सोमबार विज्ञप्ति जारी गर्दै काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले स्ट्याटस लेखेकाे आधारमा उपत्यकाका हल व्यवसायीहरुले शान्ती सुरक्षाकाे कारण प्रदर्शन स्थगीत गरेकाे कारण फिल्म प्रदर्शन बन्द गरेकाे जनाएकाे छ ।
फिल्मको प्रदर्शनलाई लिएर आएका भ्रामक समाचारमा ध्यानाकर्षण भएको समेत बैंकटेशले जारी गरेकाे विज्ञप्तीमा भनिएकाे छ । तर के कुरा भ्रामक भन्ने विज्ञप्तिमा खुलाइएको छैन । फिल्मको एक संवादलाई लिएर चौतर्फी विवाद भएपछि केही हलले स्वतःस्फूर्त रुपमा फिल्म नचलाउने निर्णय गरेका थिए भने केही नगरपालिकाका नगर प्रमुख स्वयंले चलचित्र नचलाउन आदेश जारी गरेका थिए ।


