मकवानपुर । हेटौडा उपमहनागरपालिकामा जारी मेयर कप फुटबल अन्तरगत साेमबारबाट क्वार्टरफाइनलका खेलहरु संचालन हुने छन् । आइतबार भएकाे तीन खेलबाट क्वार्टरफाइनलकाे समिकरण पुरा भए पछी साेमबारबाट क्वार्टरफाइनलका खेल हुने भएकाे हाे ।
हेटौँडा उपमहानगरपालिका नगर खेलकुद विकास समितिको आयोजना संचालन भएकाे तेस्रो संस्करणको हेटौँडा मेयर कप फुटबल प्रतियोगिताको क्वार्टरफाइनल १ नम्बर, २ नम्बर, ९ नम्बर, ११ नम्बर, १३ नम्बर, १४ नम्बर, १५ नम्बर र १९ नम्बर वडाकाे फुटबल टिमले स्थान बनाएका हुन ।
आइतबार भएको खेलमा १३ नम्बर, १४ नम्बर र १५ नम्बर वडा विजयी हुँदै क्वाटरफाइनलमा प्रवेश गरेको छ । आइतबार भएको खेलमा १० नम्बर वडालाई २–१ गोलअन्तरले हराउँदै १३ नम्बर वडा क्वार्टरफाइनल प्रवेश गरेको हो । यस्तै १८ नम्बरलाई टाइब्रेकरमा ५–४ गोलअन्तरले हराउँदै १५ नम्बर वडा क्वार्टरफाइनल प्रवेश गरेकोे हो । यस्तै, आइतबार बिहान भएको खेलमा १२ नम्बर वडालाई ३–२ गोलअन्तरले पराजित गर्दै १४ नम्बर क्वार्टरफाइनल प्रवेश गरेको हो ।
यसअघी भएका खेलहरुमा ९ नम्बरले १६ नम्बर र ११ नम्बर वडाले ७ नम्बर वडालाई हराउँदै क्वार्टरफाइनलमा प्रवेश पाएका हुन् । यस्तै १ नम्बरले ५ नम्बरलाई, २ नम्बरले १७ नम्बरलाई र १९ नम्बरले ८ नम्बर वडालाई हराउँदै क्वार्टरफाइनलमा स्थान बनाएका हुन ।
सोमबारको पहिलो क्वाटरफाइनल खेल ९ नम्बर वडा र १४ नम्बर वडाबीच प्रतिस्पर्धा हुनेछ । सोमबारको दोसो क्वार्टरफाइनल खेलमा १ नम्बर वडाले ११ नम्बर वडाकाे सामना गर्ने हेटौडा उपमहानगरपालिका खेलकुद शाखा अधिकृत बसन्त सिटौलाले बताए । यसैगरी क्वार्टरफाइनल अन्तर्गत मंगलबार १५ नम्बर वडा र १९ नम्बर वडा र २ नम्बर वडा र १३ नम्बर वडाबीच खेल हुने सिटौलाले जानकारी दिए । प्रतियोगिताको सेमिफाइनलका खेलहरु बुधबार र बिहिबार हुनेछ भने फाइनल शनिबार कार्यतालिका रहेकाे उनले बताए ।
प्रतियोगिताको विजेता टिमले नगद २ लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टिमले नगद १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । सेमिफाइनल प्रवेश गर्ने दुई टिमले ५०–५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै विधागत उत्कृष्ट खेलाडीहरुले ५–५ हजार रुपैयाँ प्राप्त गर्ने आयाेजकले जनाएको छ ।

