मकवानपुर । हेटौँडामा जारी बागमती प्रदेश खेलकुदअन्तर्गत रग्बीमा महिलातर्फ मकवानपुर र पुरुषतर्फ भक्तपुरले स्वर्ण जितेको छ । शनिबार हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा भएको फाइनल खेलमा महिलातर्फ मकवानपुरले ललितपुरलाई र पुरुषतर्फ भक्तपुरले मकवानपुरलाई पराजित गर्दै उपाधी जितेको हो ।
महिलातर्फ मकवानपुरले ललितपुरलाई १७–१० स्कोरले हराउँदा पुरुषतर्फ भक्तपुरले मकवानपुरलाई ३१–५ स्कोरले पराजित गर्यो । मकवानपुरको महिला टिम चितवनलाई हराउँदै तथा पुरुष टिम रामेछापलाई हराउँदै फाइनलमा प्रवेश गरेको थियो ।
भक्तपुरका सुरज रानाले २ तथा प्रवेश पनेरु, रमेश बानियाँ र नरेन्द्रप्रसाद जोशीले १ ट्राइ गरे । भक्तपुरका निरोज कार्कीले ३ कन्भर्सनबाट ६ स्कोर बटुले । मकवानपुरका अनिश तामाङले १ ट्राइ गरे । रग्बीको अन्तर्राष्ट्रिय नियम अनुसार १ ट्राइबाट ५ स्कोर प्राप्त हुन्छ भने १ कन्भर्सन वापत २ स्कोर प्राप्त हुन्छ।
महिलाको उपाधि भिडन्तमा मकवानपुरले ललिपतुरलाई १७–१० स्कोरले हरायो । विजयी टिमका लागि पुष्पा खड्काले २ तथा मनीषा घिसिङले १ ट्राइ गरे । मकवानपुरकी ज्योतिका बम्जनले १ कन्भर्सन गरिन् । ललितपुरका कमला राई र प्रेक्षा वाग्लेले समान १–१ ट्राइ गरे ।
दुईदिने भएको रग्बी प्रतियोगिताको पुरुषतर्फ ८ तथा महिला तर्फ ५ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए । विभिन्न १३ खेल समावेश दोस्रो बागमती प्रदेश खेलकुदअन्तर्गत रग्बी पहिलोपटक समावेश गरिएको बागमती खेलकुद बिकास परिषदले जनाएको छ ।

