मकवानपुर । मकवानपुर सहित बागमती प्रदेशका १३ जिल्लामा पशु चौपायामा लम्पी स्किन राेग फेलिएकाे छ । १ महिना अघीबाट फैलिन थालेकाे राेगबाट बागमती प्रदेशकाे १३ जिल्लामा हालसम्म १८ हजार पशु चौपायामा ‘लम्पी स्किन’ रोगकाे संक्रमण फैलिएकाे भए पनि प्रदेश र स्थानीय सरकारले चासाे देखाएकाे छैन ।
बागमती प्रदेशका १३ जिल्लामा संक्रामक विषाणुजन्य रोग लम्पी स्किनबाट १८ हजार ३ सय २४ गाई सक्रमण भएको पाइएको छ । देशभर फैलिएको लम्पी स्किन रोग गाई र भैसीहरुमा देखा परेसँगै मृत्युहुनेको संख्या पनि बढ्दो क्रममा रहेको बताइएकाे छ ।
संक्रमण फैलिएका १३ जिल्ला मध्य मकवानपुरमा लम्पी स्किन राेग सबैभन्दा बढी देखिएको तथ्याङ्कले देखाएकाे छ । मकवानपुरमा १ हजार ८ सय ३५ वटा गाईमा उक्त रोग देखा परेकोमा १ एक ९७ गाईको मृत्यु भएको बागमती प्रदेश कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएकाे छ । मन्त्रालयका अनुसार हालसम्म गाईमा मात्र संक्रमण भएको र भैसीमा उक्त रोग संक्रमण भएकाे छैन ।
प्रदेशको रसुवा र दोलखा जिल्लामा रोग पुष्टि नभएकोले संक्रमित संख्या शुन्य रहेको छ भने धादिङको विवरण मन्त्रालयलाई प्राप्त नभएकाे मन्त्रालयले जनाएकाे छ । यसैगरी प्रदेशको सिन्धुली जिल्लामा ९ हजार ६ सय ३४ सक्रमण र ४७ को मृत्यु, रामेछापमा एक हजार ९ सय ६५, चितवनमा १ हजार ६० वटा गाईमा उक्त रोगको सक्रमण भएको तथ्याङ्क रहेकाे छ ।
यसैगरी काठमाडौंमा ८३, ललितपुरमा ४०, काभ्रेमा ४ सय, नुवाकोटमा ३ सय, सिन्धुपाल्चोकमा ६ र भक्तपुरमा १ वटा गाईमा लम्पी स्किन रोग देखा परेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । रोगबाट पशुमा हुने मृत्युदर करिब ५ प्रतिशत भए पनि दुहुना पशुहरुको दूध उत्पादनमा ह्रासकाे दर भने उच्च रहेकाे छ । राेगका कारण दूध उत्पादनमा ह्रासकाे दर ८० प्रतिशत सम्म हुने भएकाले कृषकलाई प्रत्यक्ष आर्थिक क्षति पुगेको ।
मकवानपुरको सबैभन्दा बढी मकवानपुरगढी गाउँपालिका, मनहरी गाउँपालिकामा लम्पी स्किन राेगकाे संक्रमण रहेकाे पाइएकाे छ । हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका लगायतका जिल्लाका १० वटै पालिकाका पशु चौपायमा यो रोग देखा परेको छ । तर, यी पालिकाबाट ठोस रुपमा रोगलाई न्यूनीकरण गर्ने कार्यक्रमहरु नल्याउँदा किसान थप थप समस्या परेका छन् । किसानले पालेका गाई, भैसीमा ‘लम्पी स्किन’ रोग देखा परेपनि स्थानीय सरकार र बागमती प्रदेश सरकारको खासै चासोमा परेको छैन । किसानले आफ्ना गोठमा पालेका गाई, भैसीमा यो रोग देखा परेपछी थप समस्या बेहोर्दै आएका छन् ।
यो रोगकै कारण गाई मर्न समेत थालेपछी किसानहरुले आर्थिक समस्या भाेग्नु परेकाे छ भने राेगलागेका पशुबाट कमै मात्र दुध उत्पादन थप समस्या परेको मनहरीका किसान पुरुषोत्तम विष्ट बताउँछन् । गाई लगायत पशु चौपायामा लम्पी स्किनको प्रकोप फैलिन थालेकाे तर राेगथामकाे लागि खासै पहल नहुँदा किसानहरु थप चिन्तामा परेका छन् ।
प्रदेश कृषि मन्त्रालयले रोग नियन्त्रण गर्न रोगको कारण, लक्षण, यसबाट कृषकहरुमा पुग्ने क्षति एवं नियन्त्रण र रोकथामका बारेमा कृषक र सबै सरोकारवालाहरुमाझ जनचेतना फैलाउनुका साथै रोगको जोखिमयुक्त क्षेत्रको पहिचान गरी खोप कार्यक्रम यथाशिघ्र सुरु गर्न जिल्ला स्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रहरुलाई निर्देशन दिई सकिएको बताउँदै आएकाे छ ।
लम्पी स्किन रोग पहिलो पटक अफ्रिकी मुलुक जाम्बियामा सन् १९२९ मा देखिएको थियो। केही समयसम्म त्यो सब-सहारन अफ्रिकामा सीमित रह्यो भने बिस्तारै उत्तर अफ्रिका, मध्यपूर्व, युरोप र एशियासम्म फैलियो। राष्ट्रसङ्घको खाद्य तथा कृषि सङ्गठन (एफएओ) का अनुसार सन् २०१९ को जुलाईमा पहिलो पटक बाङ्ग्लादेश, चीन र भारतमा लम्पी स्किन देखिएको थियो।
पशु सेवा विभागका अनुसार नेपालमा भने मोरङ जिल्लामा विसं २०७७ सालको साउन २२ गते पहिलो पटक लम्पी स्किन रोग पुष्टि भएको थियो। आर्थिक वर्ष २०७७/०७८ मा आठ जिल्लाका ११ वटा पालिकामा देखिएको थियो भने भने २०७८/०७९ मा नौ जिल्लाका १९ पालिकामा विस्तार भएको पाइएकाे थियाे । त्यसपछि आर्थिक वर्ष २०७९/०८० काे सुरुवातमा खासै नदेखिए पनि अहिले आएर ७ वटै प्रदेशमा लम्पी स्किन रोगको सङ्क्रमण फैलिएको विभागकाे तथ्याङ्कले बताउँछ ।
याे राेग गाईभैँसीलाई हुने एकदमै सङ्क्रामक रोग हो। लामखुट्टे, टोक्ने झिँगा र किर्नाजस्ता कीराको टोकाइबाट यो रोग सर्ने गर्छ। सङ्क्रमित गाईभैँसीको ओसारपसार, सामुदायिक चरणक्षेत्र दाना एवं पानी खाने साझा ठाउँ, प्राकृतिक वा कृत्रिम गर्भाधानबाट र पशु उपचार गर्ने क्रममा फरक गाईभैँसीमा एउटै सुईको प्रयोगबाट पनि यो रोग सर्छ। गर्मीयाममा लामखुट्टे र किर्ना आदिको सङ्ख्या बढ्ने र ती कीरा बढी सक्रिय हुने भएकाले यसको प्रकोप अझ बढी देखिन्छ।
यो रोग लागेमा पशुका शरीरमा खटिरा आउने, खटिराबाट तरल पदार्थ बगिरहने, ज्वरो आउने, झोक्राउने, खानेकुरा नखाने खुट्टा सुन्निने तथा लुलो हुने, दूध कम दिने वा दिनै छोड्ने नाक र मुखबाट तरल पदार्थ बग्ने समस्या हुन्छ । ‘लम्पी स्किन’ बाट सङ्क्रमित पशुहरु अन्त्यमा मर्ने समेत गरेका पाइन्छ । छालामा गोलो गिर्खा र घाउ देखा पर्नु यसलाई चिन्ने सजिलो लक्ष्यण देखा पर्ने गरेको पशुस्वाथ्यकर्मीहरु बताउँछन् । क्याप्री पक्स नामक भाइरसको सङ्क्रमणबाट लाग्ने यो रोगबाट बचाउन विश्वभर खोप लगाउने गरिएको भए पनि नेपालमा भने निजी क्षेत्रले मात्र यो खोपलाई प्रयाेगमा ल्याएका छन् ।
सरकार कृषकले पालेका गाई भैसीमा लागेकाे राेग लम्की स्कीन राेग प्रति गम्भीर नभएकाे भन्दै संघीय संसदकाे प्रतिनिधि सभामा समेत सांसदहरुले सरकारकाे आलाेचना सँगै ध्याकर्षण गराउँदै आएका छन् । संसदकाे शून्य समयमा विभिन्न जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसदहरुले पछिल्लो समय देशैभरका गाईं भैंसीमा तिब्र रुपमा फैलर्दै गएको लम्पी स्किन नामक रोगको नियन्त्रणमा सरकार गम्भिर बन्नुपर्ने बताउँदै आएका छन् ।
उनीहरुले रोगबाट पीडित पशुको निःशुल्क उपचारको व्यवस्था गर्न माग गर्दै संघीय प्रदेश र स्थानीय सरकारसँग समन्वय गरेर क्षतिको मूल्याङकन गरेर क्षतिपूर्तीको व्यवस्था गर्न समेत संसदमा आवाज उठ्ने गरेकाे छ । तीब्र रुपमा फैलिएकाे याे रोगबाट पछिल्लो समय देशैभरी हजारौं पशुहरु बिरामी भइरहेका छन् । जसको नियन्त्रण अझै हुन् सकेको छैन । यसै विषयमा संसदमा बेला बेला सांसदहरुले आवाज उठाउँदै आएका छन् । तर सरकारले खासै चासाे नदिदाँ किसानहरु समस्यामा परेका छन् ।

