मकवानपुर । दोस्रो बागमती प्रदेश खेलकुदअन्तर्गत पुरुष फुटबलमा मकवानपुरले स्वर्ण जितेको छ । शनिबार हेटौँडा ५ स्थित पिप्ले–क्याम्पा रंगशालामा भएको फुटबल फाइनलमा काठमाडौंलाई ४-३ ले हराउदै मकवानपुर दोस्रो पटक प्रतियोगिताको च्याम्पियन बनेको छ ।
खेलकुद प्रतियोगिताको अन्तिम दिन शनिबार भएको पुरुष फुटबलमा निर्धारित ९० मिनेटमा एक/एक गोलको बराबरी भएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो । पेनाल्टी सुटआउटमा मकवानपुरले काठमाडौंमाथि ४–३ को जित हासिल गर्यो ।
निकै प्रतिस्पर्धात्मक फाइनल खेलको तालमेल नमिल्दा खेल सुरु भएको १२ औँ सेकेण्डमा मकवानपुरले आत्मखाती गोल गरे संगै काठमाडौंले १–० को अग्रता बनायो ।
खेलको पहिलो हाफमा गोलको लागि संर्घषरत मकवानपुरले राम्रो अवसर पाएपनि काठमाडौंको पोष्टमा गोल गर्न सकेन । मकवानपुरका लागि खेलको ७० औँ मिनेट सुजन गुरुङले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए । मकवानपुरका कप्तान प्रितम स्याङ्बोको पासलाई सुजनले काठमाडौको पोष्टमा जाली चुमाए । त्यसपछिको समयमा दुबै तर्फबाट गोल हुन नसके पछि खेल पेनाल्टीमा धकेलियो ।
पेनाल्टीमा मकवानपुरका निर्मल बल र काठमाडौंका खेमराज तामाङको प्रहार गोलमा परिणत हुन सकेन । मकवानपुरका विकास लामा, सुवास पाख्रिन, सुजन गुरुङ र प्रीतम स्याङ्बोले गोल गरे । काठमाडौंका लागि वाङ गुरुङ, कब्बु कन्दङ्वा र सनम शेर्पाको प्रहार गोलमा परिणत भयो । विवेक राईको प्रहार बाहिरिएसँगै मकवानपुरले स्वर्ण जित्यो ।
मकवानपुरका सुजन गुरुङ फाइनल खेलका म्यानअफ द क्याच घोषित भए । प्रतियोगिताको सर्बोउत्कृष्ट खेलाडी मकवापुरका कप्तान प्रितम स्याङ्बो घोषित भए । विधागततर्फ उत्कृष्ट मकवानपुरका गोलरक्षक गोपी बर्तौला, रक्षक काठमाडौंका सौगात लामा, मिडफिल्डर मकवानपुरका स्याम्युल सुनार, फर्वाड खेमराज तामाङ, सर्वाधिक गोलकर्ता प्रितम स्याङ्बो घोषित हुँदा उत्कृष्ट प्रशिक्षकमा मकवानपुरकै बिजयलाल श्रेष्ठ चुनिए ।
बागमती खेलकुद प्रतियोगिताको पहिलो संस्करणमा मकवानपुरले ललितपुरलाई पराजित गर्दै फुटबलमा स्वर्ण जितेको थियो ।

