जुनु घिमिरे
१.
झुपडी बाट पनि आकाश देखिन्छ
महल हुँदैमा नसोच चन्द्रमा टेकिन्छ
चौरासी व्यञ्जनको औकात नभए पनि
सन्तोषको दुई छाकले भोक मेटिन्छ ।
२.
मेरो झर्दै गरेको बैंशले प्रेमको अनुभुती हुन्छ भने
बिस्तारै खसौँला यदि त्यो मनले मलाई चुन्छ भने
अनुभव संगालेर खस्दै छ पात, नजर हेराइमा हुन्छ
जवानी फूलको पनि सकिन्छ, आऊ पातले छुन्छ भने ।
३.
पिडा लुकाएकै जाति,आँशु छुपाएकै जाती
भित्र भित्रै रोएपनि बाहिर मुस्कुराएकै जाती
कथा सुनाउँदा व्यथा बनाएर बुझ्छन् सबैले
त्यसैले, कथा मारेर व्यथा नदेखाएकै जाती ।
४.
तिम्ले आँसु पिलाइ पिउनुको मजा चखायौ
मेरा लाजहरुलाई छुदै जिउनुको मजा चखायौ
नच्यात्तिनु थियो नउघ्रीनु थियो तर उधारे उघारेउ
सियो हातमा थमाउँदै सिउनुको मजा चखायौ ।
५.
एक झल्को हेर्न पाए हुन्थ्यो, भन्ने जमाना हरायो
करोडौंको खेल हुन्छ, आना सुकी गन्ने जमाना हरायो
यो गुन पैंचो लगाएर ,खुन फिर्ता माग्नेहरूको भिडमा
सुन पाए खुन पनि लुक्छ, इमान्दार बन्ने जमाना हरायो ।
धनकुटा हाल काठमाडाैं

