मकवानपुर । सुर्तिजन्य पदार्थको प्रयोग स्वास्थ्यको लागि हानिकारक छ । तर मापदण्डले तोकिए बमोजिम निषेधित स्थानमा निषेधित व्यक्ती किन्न र बेच्नमा सहभागी हुने गरेका छन् ।
यस्तो गैरकानूनी काम रोक्न जनप्रतिनिधिको भूमिका कस्तो होला ? हेटौँडा उपमहानगरपालिका ४ का वडा अध्यक्ष नवीन सिग्देल यो गैरकानूनी कदम रोक्नको लागि घरदैलोमा लागेका छन् । वडा अध्यक्ष सहितको टोलीले शैक्षिक संस्था रहेको स्थानबाट कम्तिमा १ सय मिटर वरिपरी मध्यपान र धुम्रपान विक्री वितरण नगर्न अनुरोध गर्दै घरदैलोमा लागेका हुन् ।
हेटौंडा ४ मा रहेको श्रमिक मावि, ब्रम्हदिक एकेडेमी, नवदोय मावि, हेटौँडा क्याम्पस, आधुनिक मावि, स्कुल अफ म्यानेजमेन्ट, भुटनदेवी माविको क्षेत्रमा सोमबार सचेतना स्वरूप घरदैलो गरिएको थियो ।
आफ्नो पसलमा वडा अध्यक्ष आफैंले आएर हात जोड्दै मध्यपान र धुम्रपान विक्रि नगर्नु भनेपछि आफूले आगामी दिनमा यस्तो व्यापार नगर्ने व्यापारीहरुले प्रतिवद्धता ब्यक्त गरेका छन् । अध्यक्ष सिग्देलले घरदैलोको क्रममा मध्यपान र धुम्रपान विक्रि वितरणको सवालमात्रै उठाएनन् । बाल श्रम, लैङ्गीक हिंसा, लागूऔषतविरूद्व समेत जानकारी गराए । यस बारे सचेतनामुलक स्टिकर समेत विभिन्न स्थानमा टाँसिएको थियो ।
विद्यालय क्षेत्र वरिपरि मध्यपान र धुम्रपान मुक्त बनाउनु, विद्यालयलाई शान्ति क्षेत्र बनाउनु र लागू औषध, लैङ्गिक हिंसा, वालश्रम विरूद्व अभियान रहेको वडा अध्यक्ष सिग्देलले बताए ।
कार्यक्रममा जनप्रतिनिधिहरू, टोल विकासका प्रतिनिधिहरू, महिला तथा बालवालिका सरोकार केन्द्र, सामाजिक अभियान सञ्जाल हेटौँडा ४, नेपाल प्रहरी, विद्यालय व्यवस्थापन समितिका प्रतिनिधिहरू, शिक्षक, विध्यार्थीहरूको सहभागीता रहेको थियो ।
कार्यक्रममा वडा सदस्य जग्गनाथ पाण्डे, सामाजिक अभियान सञ्जाल, हेटौँडा ४ की अध्यक्ष माया लामा, टोल विकास संस्था वडा समन्वय समितिका अध्यक्ष राजेन्द्रकुमार बस्ताकोटी, शैक्षिक गुणस्तर सुधार समिति, हेटौँडा ४ को संयोजक श्रीराम दाहाल, श्रमिक मावि व्यवस्थापन समितिका अध्यक्ष विवेक कार्की, हेटौँडा क्याम्पसका प्रमुख देवचन्द्र मानन्धर, उपप्रमुख अर्पण पराजुली, महिला तथा वालवालिका सरोकार केन्द्र, मकवानपुरकी अध्यक्ष सरू सिलवाललगायतको सहभागीता रहेको वडा सचिव टीका कंडेलले बताए ।
हेटौंडा उपमहानगरपालिका बालमैत्री स्थानीय शासन लागु भएको स्थानीय तहको रुपमा घोषणा गर्ने तयारी हुँदै छ । यस्तो अभियानले उक्त लक्ष्यमा समेत टेवा पुग्ने वडा सचिव कंडेलले बताए ।

