मकवानपुर । हेटौंडा उपमहानगरपालिका शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख दिनानाथ गौतमले विद्यार्थी भनेका सिर्जना र प्रतीभाका भण्डार भएकोले शिक्षकले सहजकर्ताको भूमिका निर्वाह गर्दै प्रतीभा प्रस्फुटनमा योगदान गर्नुपर्ने बताएका छन् । यसले गर्दा विद्यार्थीको सिकाइ दीगो र प्रभावकारी हुने उनले बताए ।
बाल जागृती माध्यमिक बिद्यालय हेटौंडाले प्रकाशन गरेको बाल जागृती साहित्य दर्पण स्मारिका २०७९ को आज हेटौंडामा बिमोचन समारोहमा उनले यस्तो बताएका हुन् । प्रबिधिले धेरै अवसर प्रदान गरेकोले अहिले बालबालिका घर परिवार समाज मात्रै सिमित नरही राष्ट्रिय र अन्तरास्ट्रिय स्तरमा प्रतिस्पर्धामा उत्रन सक्षम बनाएको उनले बताए । विद्यार्थीले आफ्नो लक्ष्यमा सदा अडिग भएर लाग्दा सफलता निश्चित रहेको गौतमले बताए ।
बिद्यालय व्यवस्थापन समिती अध्यक्ष रामकृष्ण घिमिरेको अध्यक्षतामा स्मारिका विमोचन तथा विद्यार्थी बिच फेरि भेटौला कार्यक्रम गरिएको थियो। एसईई २०७९ को परिक्षा दिएका विद्यार्थीलाई सफल भबिस्यको शुभकामना सहित फेरि भेटौला समारोह राखिएको घिमिरेले बताए ।
बालजागृती माविले बालबालिकालाई किताबी ज्ञान घोकाउने मात्रै नगरी जीवन र जगतबारेमा अभ्यास्त बनाउन विभिन्न रचनात्मक कार्यक्रम गर्दै आएको प्राध्यापक बिनोद सुबेदीले बताए ।
स्मारिकामाथी साहित्यकार तथा शिक्षक डीबी बर्तौला र प्राद्यापक तथा समालोचक घनश्याम घिमिरेले टिप्पणी गरेका थिए । कार्यक्रममा प्याब्सन बागमती प्रदेश अध्यक्ष केशबलाल श्रेष्ठलगायतको उपस्तिथि रहेको कार्यक्रम सन्चालक बिद्यालय शिक्षक रजनी पौडेलले बताइन् ।

