शान्ती अर्याल अधिकारी
१.
हरपल सताउने रहेछ, आफ्नै माटोको मायाले
रूच्दैन् बिदेशी परिकार ,त्यही आटोको मायाले
ठुला -ठुला रेल गाडीमा यात्रा त भएकै छ आमा,
फेरि पनि झस्काउँछ ,गोरेटो बाटोको मायाले ।
२.
सुन्दर भबिष्यको खोजी गर्दै शहर तिर बस्छ मान्छे
रूखमै पैसा फल्छ जस्तो गरी बिदेशतिर पस्छ मान्छे
न पैसा फल्ने रूख भेट्छ न गाउँ फर्किने बाटो भेट्छ,
सपना पुरा गर्ने दौडानमा बिदेशतिरै फस्छ मान्छे ।
३.
हरेक रात सपनिमा, आफ्नै प्यारो त्यो देश देखिन्छ
आँखा खोलि बाहिर हेर्दा,फरक फरक भेष देखिन्छ
झस्काउँदै मनले भनिदिन्छ तिमी अर्कैको देशमा छौ,
हेर नजर घुमाएर काला गोरा अनि खैरा केश देखिन्छ ।
पाल्पा

