मकवानपुर । हेटौंडामा क्याट फिस माछा ४८ किलो नष्ट गरिएको छ । सशस्त्र प्रहरी बल १४ नम्बर गण हेटौंडाले नियन्त्रणमा लिएको प्रतिबन्धित मगुर माछा क्याट फिस नष्ट गरेको हो ।
हेटौंडा ८ मा रहेको सशस्त्र प्रहरी बल १४ नम्बर गणबाट खटिएको सुरक्षा टोलीले बिहीबार राति १२ बजे हेटौंडा १५ चुरियामाई स्थित पुर्वपश्चिम राजमार्गबाट मानव स्वास्थ्य र वातावरणलाई प्रतिकुल असर पुग्ने मगुर माछा ‘क्याट फिस’ नियन्त्रणमा लिएर शनिवार नष्ट गरेको हो ।
सर्लाहीबाट हेटौंडा तर्फ आउँदै गरेको बा.७ ख. ६४१ नम्बरको यात्रुवाहक बस रोकि जाँच गर्ने क्रममा बसको डिक्कीमा ८ वटा सिलावरको भाडामा लुकाई छिपाई ल्याएको अवस्थामा ४८ केजी जिउँदो मगुर माछाको भुरा नियन्त्रणमा लिएको सशस्त्र प्रहरीका डिएसपी शैलेस श्रेष्ठले जानकारी दिए ।
अन्दाजी चौध हजार ४ सय बजार मुल्य रहेको उक्त माछाका भुरा प्रहरीले जनप्रतिनिधि, भेटनरी अस्पताल तथा पशु विज्ञ केन्द्रका प्रतिनिधि, पत्रकार र स्थानीयको रोहबरमा हेटौडा कपडा उद्योगको परिसरमा खाडल खनेर नष्ट गरेको थियो ।

