मकवानपुर । प्रज्ञा कुञ्ज माध्यमिक विद्यालयकी निर्देशक सपना खरेलले पिताकाे सम्झनामा चित्रकला प्रदर्शनी गरेकी छिन् । सपनाले पिता दयाराम खरेलको प्रथम वार्षिक पुण्य तिथिको अवसर पारेर पुष्प सजावटको शिल्पकला प्रदर्शनीमा ल्याएकी हुन् ।
नेपाल कला परिषद् बबरमहलमा माघ १३ गतेदेखि सुरु भएकाे चित्रकला प्रदर्शनी माघ १७ गतेसम्म चल्ने बताइएकाे छ । उक्त प्रदर्शनीको उद्घाटन नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका उपकुलपति किरण मानन्धरले गरेका हुन् । प्रदर्शनी उद्घाटन गर्दै मानन्धरले आधुनिक समाजमा चित्रकलाको भूमिकामा नारी उपस्थितिकाे प्रशंसा गरेका थिए ।
यसैगरी काठमाडौँ विश्वविद्यालयका प्रा. भीमप्रसाद श्रेष्ठले सपना खरेलका चित्रमा नेपाल र जापानका विशेषता झल्कनुले युगीन चेतनाको झल्को दिएकाे बताए । जापानी दूतावासकी सांस्कृतिक अधिकृत सातो मायोकुले कलाकारिताको प्रशंसा गर्दै जापानी कलाकारितालाई नेपालमा पनि स्थान दिएकोमा सपना खरेललाई धन्यवाद ज्ञापन गरेका थिए । शिल्पाञ्जली नाम दिइएको कला प्रदर्शनीमा सपनाले आफू जापानमा रहँदा सिकेको सिकाइ र अनुभवलाई समेटेर जापानी शैलीगत पुष्प सजावट गर्ने कलालाई प्रस्तुत गरेकाे बताइन् ।

इन्जिनियर्स विद आउट बोर्डर्सका अध्यक्ष कपिलदेव रेग्मीले कला, साहित्य र संगीतको महत्वबारे प्रकाश पार्दै कार्यक्रममा उपस्थित सबै अतिथिजनहरूमा धन्यवाद ज्ञापन गरेका थिए । अस्मि कार्की र अनुष्का रेग्मीको संचालन तथा स्वागत मन्तव्य चित्रकार खरेरलले स्वयं गरेकाे चित्रकला प्रदर्शनी उद्घाटन कार्यक्रममा ललितकलासँग सम्बन्धित व्यक्तिहरूकाे सहभागिता रहेकाे थियाे ।
गोल्डेन गेट कलेजका निर्देशक सम्झना खरेलकाे विशेष उपस्थिति रहेको प्रदर्शनीमा बिक्री भएकाे चित्रबाट प्राप्त हुने रकम कुनै परोपकारी कार्यमा सहयाेग गरिने चित्रकार खरेलले बताइन् ।

