मकवानपुर । बागमती प्रदेशसभाको सोमबार बसेको पहिलो बैठकले ५ वटा अध्यादेशलाई संशोधन गर्न स्वीकृती प्रदान गरेको छ ।
बैठकले तत्कालिन मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको नेतृत्वको मन्त्रीपरिषद्ले जारी गरेको ५ वटा अध्यादेशलाई संशोधन गर्न स्वीकृती प्रदान गरेको हो । प्रदेशको सोमबारको पहिलो बैठकमा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले उक्त अध्यादेशलाई स्वीकृती प्रदान गर्न प्रस्ताव टेबुल गरेका थिए ।
मुख्यमन्त्री जम्मकट्टेलले प्रदेश निजामति सेवा गठन, संचालन र सेवाका शर्तहरु सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश २०७९, स्थानीय सेवा गठन तथा संचालन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश २०७९ लाई स्वीकृती प्रदान गर्न प्रस्ताव टेबुल गरेका हुन् ।
यस्तै, उनले प्रदेश स्वास्थ्य सेवा ऐन, २०७५ लाई संशोधन गर्न बनेको अध्यादेश २०७९, प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश २०७९ र प्रदेश हस्तकलाग्राम स्थापना तथा संचालन सम्बन्धी अध्यादेश २०७९ लाई स्वीकृती प्रदान गर्न प्रस्ताव टेबुल गरेका हुन् ।
आजैको दोस्रो बैठकले आइतबार भएको विमान दुर्घटनामा परि ज्यान गुमाएकाहरू प्रती शोक प्रस्ताव पारित गरेको छ । अर्को बैठक भोलि सांढे १२ बजे बस्ने छ ।

