मकवानपुर । बागमती प्रदेशसभाकोे उपसभामुखमा अप्सरा चापागाई खत्री निर्वाचित भएकी छन। सोमबार प्रदेशसभामा भएको उपसभामुखको निर्वाचनमा खत्री निर्वाचित भएकी हुन ।
उनले नेकपा एमाले, नेकपा माओेबादी केन्द्र, राप्रपा र हाम्रो नेपाली पार्टीका सांसदहरु समेतको गरी ६१ मत प्राप्त गरी विजयी भएकी हुन । ११० सदस्यीय प्रदेशसभामा मतदानका क्रममा १०८ जना सांसद उपस्थित थिए । खत्रीको विपक्षमा ३९ सांसदले मतदान गरे भने ७ सांसद तटस्थमा रहेका थिए ।
यसअघि भएको मतदानको विभाजनमा प्रदेशको उपसभामुख पदका उम्मेद्वार नेपाल मजदुर किसान पार्टीकी गिता काफ्लेले जम्मा ३ मत प्राप्त गरिन् । उनको विपक्षमा ६१ सांसदले मतदान गरे भने र तटस्थमा ४४ सांसद रहेका छन् ।
एमालेकी चापागाईंलाई माओवादी सांसद कुमारी मोक्तान प्रस्तावक तथा आशा लामा समर्थक रहेका थिए । ललितपुरकी खत्री नेकपा एमालेबाट समानुपातिक निर्वाचन प्रणालीमार्फत प्रदेश सभामा निर्वाचित भएकी हुन ।
उपसभामुखमा नेपाली कांग्रेसकी सोना परियार, नेपाल मजदुर किसान पार्टीकी रीता काफ्ले र एमालेकी अप्सरा चापागाईं खत्रीले उम्मेदवारी दर्ता गराएका थिए । उपसभामुख पदको निर्वाचनको लागि तीन जनाले उम्मेदवारी दर्ता गराएकोमा दुई जनाबीच मात्रै प्रतिस्पर्धा भएको थियो । नेपाली कांग्रेसबाट उम्मेदवार बनेकी सुना परियारको भने उपसभामुखमा निर्वाचन भएन ।
प्रदेश सभाको पहिलो बैठक बसेको १५ दिन भित्र प्रदेश सभाका सदस्यहरु आफूहरु मध्ये सभामुख र उपसभामुख चयन गर्नु पर्ने संबैधानिक ब्यबस्था रहेको छ । प्रदेश सभाको पहिलो बैठक पुष १८ गते बसेको थियो ।
यस अघि पुष २९ गते प्रदेश सभामुखमा राप्रपाका भुवन कुमार पाठक निर्वाचित भएका छन । सभामुख पाठकको अध्यक्षतामा बसेको प्रदेश सभाको चौथो बैठकले उपसभामुख चयन गरेको हो ।

