मकवानपुर । प्रदर्शनी मिति नजिकिँदै गर्दा चलचित्र ‘ह्यारी कि प्यारी’को युनिट कलाकार सहित मोफसल यात्रामा निक्लिएको छ । उनीहरुले शनिबार नेपालगजबाट मोफसल यात्रा सुरु गरेका हुन् । नेपालगंज पछि ‘ह्यारी कि प्यारी’काे यात्रा चितवनबाट औपचारिक रुपमा अगाडी बढ्दै साेमबार हेटाैडामा आइ पुगेकाे छ ।
मोफसल यात्रामा यो चलचित्रका निर्देशक डा. कपिल रिजालसंगै कलाकारहरु जितु नेपाल, साम्राज्ञी राज्यलक्ष्मी शाह, विजय बराल, लक्ष्मी गिरी, सुभाष गजुरेल, रञ्जना भट्टराई, सरला रिजाललगायत छन् । डा. रिजालसहितको यो टिम साेमबार बागमती प्रदेशकाे राजधानी सुन्दर नगरी हेटौडा आइ पुगेकाे हाे ।
फिल्मका कलाकारसँगै यो मोफसल यात्रामा चलचित्रका गायक सपन कुमार राई, सुविन सिंह र गायिका बेनिशा पौडेलपनि सोमबार हेटौडाबाट जोडिएका छन् । चलचित्रकाे प्रचारकाे लागि हेटौडामा गायकहरुकाे प्रमाेसन प्रस्तुती रहेकाे थियाे ।
७ माघसम्म जारी रहने यो यात्रामा बेनी, बुटवल, विराटनगर, धरान, इटहरी, दमक र अन्तिममा विर्तामोडमा पुगेर यो चलचित्रको कन्सर्ट गर्दै मोफसल यात्रा उनीहरुले सम्पन्न गर्ने बताइएकाे छ ।
साेमबार चलचित्र ‘ह्यारी कि प्यारी’को टिमले हेटौडामा पत्रकार सम्मेलन गरी चलचित्र बारे जानकारी गराएको छ । चलचित्रका निर्देशक डा कपिल रिजालले चलचित्र ‘ह्यारी कि प्यारी’ आगामी माघ २० गते देखी प्रर्दशनमा आउने बताएका छन् । निर्देशक रिजालले आफनो पहिलो प्रयासलाई दर्शकहरुले मन पराउनेमा आफु विश्वस्त रहेको बताए ।
पहिलो चलचित्र भएकाले लगानीका हिसाबले पनि धेरै भएको बताउदै चलचित्र विभिन्न भाषामा डविङ गरिने उनले बताए । नेपालमा नेपाली भाषामा चलचित्र प्रर्दशन हुने समेत उनले बताए । पत्रकार सम्मेलनमा कलाकार जितु नेपालले चलचित्र ‘ह्यारी कि प्यारी’फरक चलचित्र बनेको बताएका छन । आफूले अभिनय गरेका चलचित्र भन्दा फरक विषय उठान चलचित्रमा गरीएको उनले बताए । उनले यो चलचित्रमा आफू मुख्य भूमिकामा रहेको बताउदै चलचित्रमा ‘ह्यारी को भुमिकामा देखिने बताए ।
चलचित्रका बारेमा बोल्दै नायिका साम्राज्ञी आरएल शाहले कमेडी वेशको चलचित्रमा काम गर्ने अवसर पाएको र चलचित्र राम्रो बनेको बताईन । आफूलाई फरक खाले कथाका चलचित्रमा अभिनय नगरेको भन्ने भनाईलाई चलचित्रले निस्तेज पार्ने उनले बताईन । चलचित्रका कलाकार विजय बरालले जितु र आफू काका भतिजको भुमिकामा रहेकोले हाम्रो जोडीलाईमन पराउनेमा विश्वस्त रहेको बताए । पत्रकार सम्मेलन चलचित्र पत्रकार संघ नेपाल मकवानपुरका अध्यक्ष कपिल खडकाको अध्यक्षतामा भएको थियो ।
निर्देशक रिजालकै कथा रहेको सिनेमामा सुदिप बराल, गिरिराज घिमिरे, अभिमन्यू निरवी र निर्देशक स्वयमको लेखन छ । सुदिप बरालको डिओपी, रविन्द्र न्यौपानेको छायांकन, कविराज गहतराजको कोरियोग्राफी र युग भुषाल/शिखर सन्तोषको संगीत रहेको सिनेमा अर्जुन जिसीले सम्पादन गरेका हुन् ।
बिआर प्रोडक्सनको व्यानरमा निर्मित सिनेमामा डा. भोला रिजालको निर्माण छ । सिनेमाको कार्यकारी निर्मातामा मनिष रिजाल, प्रलय रिजाल, सुदिप बराल र जीवन ओली रहेका छन् ।

