मकवानपुर । मकवानपुरको बागमती गाउँपालिकामा पाचौ बागमती गोल्डकप फुटबल प्रतियोगिता’ आज बाट सुरु हुदैछ । आज दिउँसो हुने उद्घाटन खेलमा आयोजक बागमती गाउँपालिका खेलकुद विकास समिति र ए डिभिजन टिम जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुने भएको छ । प्रतियोगिताको पाँचौ संस्करण माघ ३ गतेसम्म जनता माविको खेल मैदान फापरवारीमा हुनेछ ।
‘खेलकुद स्वास्थ्यको लागि खेलकुद राष्ट्रका लागि´ भन्ने नाराका साथ सुरु हुने प्रतियोगिताका बिजेताले नगद ८ लाख रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै द्वितीय हुनेले नगद ४ लाख रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद ५१ हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र, विधागत उत्कृष्ट खेलाडी र प्रशिक्षकलाई जनही नगद १०/१० हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र,
हरेक खेलको म्यान अफ द म्याच खेलाडीले नगद ५ हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने उनले बताए ।
प्रतियोगिताको लागत करिव ७१ लाख हुने अनुमान आयोजकले गरेको छ । वागमती गाउँपालिकाबाट ३५ लाख प्राप्त हुने तथा अन्य खर्च प्रदेश खेलकुद परिषद्, राष्ट्रिय खेलकुद परिषद्, प्रायोजक, विभिन्न व्यक्ति तथा संस्थाहरुबाट सहयोगको लागि अनुरोध भैरहेको बताइएको छ ।
प्रतियोगितामा एक विदेशी, ७ वटा ए डिभिजन क्लव र २ वटा मोफसलको क्लवको सहभागिता रहने छ । प्रतियोगितामा आयोजक बागमती क्लब सहित त्रिभुवन आर्मी, नेपाल पुलिस क्लब, एपिएफ क्लब,मछिन्द्र युवा क्लब,हिमालय शेर्पा युवा क्लब, चर्च ब्याइज युनाईटेड, मकवानपुर हेटौंडा ११,जाउलाखेल युथ क्लब र भुटनिज युथ स्पोर्ट्स क्लब अमेरिकनको सहभागिता रहने आयोजकले जानकारी दिएको छ ।
प्रतियोगिताको २०७८ को चौथो संस्करण अफ्रिकन स्ट्स एशोसिएसन क्यामरुनलाई हराउँदै थ्रीस्टार क्लवले जितेको थियो । गत बिजेता टोली पाचौ सस्करणमा सहभागी नहुने आयोजकले जनाएको छ । प्रतियोगितामा सहभागी हुने दर्शकको लागि टिकटको व्यवस्था गरिएको छ । वागमती गोल्डकपलाई सफल बनाउनका लागि विभिन्न समितिहरु निर्माण गरि प्रतियोगिताको तयारीलाई तीव्र पारिएको आयोजकले जनाएको छ ।
प्रतियोगिता संयोजक टीकलाल श्रेष्ठले बागमती गाउँपालिकाको मुख्य प्रायोजन तथा बागमती गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा प्रतियोगिता हुने जानकारी दिए ।

