मकवानपुर । हरिवन नगरपालिका वडा नम्बर ७ सर्लाहीको पुनः मतगणना हुने भएको छ । वडाध्यक्षमा यसअघिको मतगणनालाई रद्द गरी पुनः मतगणनाको उच्च अदालत जनकपुरले आदेश दिएको हो ।
न्यायाधिशद्वय भोजराज अधिकारी र रेखा थापा पाण्डेको संयुक्त ईजलासले उक्त वडाको अध्यक्षका लागि पुनः मतगणना गर्न शुक्रबार आदेश दिएको उच्च अदालत जनकपुरले जनाएको छ ।
स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत निर्वाचन अधिकृतको कार्यालय हरिवनले गरेको गणना अनुसार हरिवन–७ को वडाध्यक्षमा नेकपा एमालेका निरध्वज कार्की निर्वाचित भई कार्यभार सम्हालिरहेका छन् ।
निर्वाचन अधिकृतको कार्यालयको गणना अनुसार कार्की ३७९ मत सहित विजयी भएका हुन् भने निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका टिकाजंग थापा (अशोक) ले ३७८ मत पाएका छन् ।
कांग्रेसका थापाले आफू १ मतले मात्रै पराजित भएको भन्दै तत्कालै पुनः मतगणनाको अन्तरिम आदेश जारीको माग सहित रिट दायर गरेका थिए । तर अदालतले अन्तरिम आदेश जारी नगरी आज पुनः मतगणनाको आदेश दिएको छ । उच्च अदालतले मतपत्र अदालतमै झिकाएर पुनः गणना गरिने जनाएको छ ।

