मकवानपुर । मकवानपुर प्रहरीले अमेरिकी डलर देखाएर ठगी गर्ने ४ जना नियन्त्रणमा लिई सार्वजनिक गरेको छ । प्रहरीले हेटौंडा उपमहानगरपालिका वडा नम्बर १७ सालकपार्कमा अमेरिकी डलर देखाई ठगी गर्ने उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-३ बस्ने २१ वर्षीय हरि भन्ने सोमबहादुर डुम्जन, सोही ठाउँका ३३ वर्षीय दिवश डुम्जन, ४ नम्बर वडाका २८ वर्षीय कान्छा भन्ने शेर बहादुर तामाङ, त्रिपुरा गाउँपालिका ३ बस्ने २८ वर्षीय सुक भन्ने देवा डुम्जुन रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरले पक्राउ गरेका व्यक्ति, डलर र मोटरसाइकल विहीबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । बुधबार दिउँसो अमेरिकी डलर देखाई ठगी गर्ने ४ जनालाई पक्राउ गरिएको र अरु एक जना भने फरार रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक बामदेव गौतमले जानकारी दिए ।
अबैध अमेरिकी डलर देखाई ठगी गर्ने मानिस भएको खबर पाए लगत्तै जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट विशेष टोली खटिएको थियो । प्रहरीले ३ वटा मोटरसाइकल, १ हजार ७ सय ४१ अमेरिकी डलर र ६ हजार २ सय १० नेपाली रुपैयाँसहित उनीहरूलाई नियन्त्रणमा लिएको मकवानपुरका प्रहरी प्रबक्ता टेक बहादुर कार्कीले पत्रकार सम्मेलनमा बताए । यसै गरी बा ५० प ९३७२, बा प्र ०२-०१९ प ९६२६, बा प्र ०२- ०३४ प ४२८७ नम्बरको तीन वटा मोटरसाइकल बरामद गरेको प्रहरीले जनाएको छ ।
यस्तै उनीहरुको साथबाट कागजको नक्कली नोट ८ बन्डल, गुलेली ३ थान, मट्याङग्रा (साना ढुङगाहरु), मोबाइल ५ थान र मोटरसाइकलको बिलबुक दुइ थान बरामद भएको प्रहरीले जनाएको छ ।

