मकवानपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीमा नियुक्त भएका छन् । आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रचण्डलाई संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् ।
गत मंसिर ५ मा सम्पन्न प्रतिनिधसभामा निर्वाचनमा कुनै पनि दलको स्पष्ट बहुमत नआएकाले राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान अनुसार बहुमतकाे सरकार बनाउन गत पुष ३ गते आइतबार बेलुकी ५ बजेसम्मको समय दिएर दलहरुलाई आव्हान गरेकी थिइन् । आइतबार प्रचण्डले आफ्नो दल नेकपा माओवादीसँगै नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र राष्ट्रिय उन्मुक्ति पार्टीको समर्थन सहित प्रधानमन्त्रीमा दाबी पेश गरेका थिए ।
स्वतन्त्र सांसदहरु प्रभु साह, किरणकुमार साह र अमरेशकुमार सिंहले पनि उनलाई समर्थन गरेपछि २७५ सदस्यीय प्रतिनिधिसभामा प्रचण्डले १६९ सांसदको समर्थन पाएका छन् । बहुमतकाे सरकार गठनकाे लागि राष्ट्रपतिले दिएकाे समय सिमा सकिने दिन आइतबार नेपाली काँग्रेससँग पद बाडफाडमा कुराे नमिले पछि माओवादी अध्यक्ष प्रचण्ड एमाले अध्यक्ष निवास बालकाेट पुगेका थिए ।
बालकाेटमा भएकाे सहमति अनुसार राष्ट्रपति समक्ष आजै प्रचण्डले पेश भएको निवेदनमा एमाले अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, जसपा अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष सीके राउत र नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रन्जिता श्रेष्ठको हस्ताक्षर रहेको छ ।
प्रतिनिधि सभामा एमालेको ७८, माओवादीको ३२, रास्वपाको २०, राप्रपाको १४, जनमतको ६, नागरिक उन्मुक्ति पार्टीको ४ र जसपाको १२ सांसद रहेका छन् । नव नियुक्त प्रधानमन्त्रीको शपथ ग्रहण भोलि (सोमबार) हुने राष्ट्रपति कार्यालयले जनाएकाे छ ।
याे समेत माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ तेस्रो पटक प्रधानमन्त्री भएका छन् । प्रचण्ड पहिले पटक २०६४ सालको पहिलो संविधान सभा निर्वाचनपछि गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री भएका थिए । माओवादी शान्ति प्रक्रियामा आएपछिको पहिलो पटक प्रचण्ड प्रधानमन्त्री हुन सफल भएका थिए । वि.सं. २०७२ साल असोज ३ गते नेपालको संविधान घोषणा भएपछि प्रचण्ड दोस्रो पटक प्रधानमन्त्री भएका थिए ।
प्रचण्ड पहिलो संविधान सभा चुनावमा रोल्पा २ र काठमाडौँ १० बाट प्रत्यक्ष निर्वाचित हुन सफल भए । दोस्रो संविधान सभा चुनावमा काठमाडौँ १० बाट पराजित भए भने सिराहा–५ बाट निर्वाचित हुन सफल भए । २०७४ सालको चुनावमा चितवन ३ बाट र यस निर्वाचनमा गोरखा २ बाट निर्वाचित भएका हुन् ।


