मकवानपुर । राष्ट्रपतिले निर्वाचन पछि नयाँ सरकार गठनकाे आव्हान गरेकाे समय आज ५ बजे सकिएकाे छ । निर्वाचनमा सत्ता गठबन्धनकाे तर्फबाट हाेमिएका दलहरु सरकार बनाउन सहमति नजिक नपुगेकाे भन्दै गठबन्धनबाट नेकपा माओवादी केन्द्र बाहिरिएसँगै नेकपा एमालेकाे अगुवाइमा बहुमतकाे सरकार गठनकाे कसरत भएकाे थियाे । नेकपा एमाले सहितका दलहरुसँग भएकाे सहभाति अनुसार प्रचण्डले आफूलाई समर्थन गर्ने दलका नेताहरुसहित शितल निवास गएर सरकार बनाउन दावी पेश गरेका हुन् ।
गत चुनावमा कुनै एक दलको बहुमत नआएकाले राष्ट्रपति विद्यादेवी भण्डारीले आज बेलुकी ५ बजेसम्ममा सरकार गठनका लागि दाबी पेश गर्न दलहरुलाई आह्वान गरेकी थिइन् । नेपाली काँग्रेससहितकाे गठबन्धनमा सहमति नजुटेपछि राष्ट्रपतिकाे आह्वान अनुसार माओवादी अध्यक्ष दाहालले सरकार बनाउन दावी पेश गरेका हुन् ।
गत मङ्सिर ४ मा सम्पन्न निर्वाचनमा प्रतिनिधिसभामा सबैभन्दा ठुलो दल बनेको नेपाली कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपति दुवैमा आफ्नाे अडान राखेकाेले गठबन्धनकाे बैठकबाट नयाँ समिकरणकाे खाेजिमा नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकलम दाहाल प्रचण्ड नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकाेट पुगेर बहुमतकाे सरकार गठनमा नयाँ सहमति भएकाे बताइएकाे छ । जस अनुसार प्रधानमन्त्रीमा माओवादी केन्द्र अध्यक्ष दाहाल हुने निश्चित भएकाे छ । साेही सहमती अनुसार दाहालले प्रतिनिधि सभामा बहुमत सदस्यकाे हस्ताक्षर सहित सरकार गठनकाे लागि प्रधानमन्त्रीकाे दावी पेश गरेका छन् ।
राष्ट्रपतिबाट माओवादी अध्यक्ष दाहाललाई प्रधानमन्त्रीमा नियुक्ति गर्न संविधानले नराेक्ने स्पष्ट छ । यसाे भए केन्द्रीय गठबन्धन टुटेकाे हुनेछ र प्रदेशमा समेत नेपाली काँग्रेस प्रतिपक्षमा पर्ने निश्चित देखिन्छ । सत्तारुढ गठबन्धनमा भागबण्डाको विषयमा सहमति नजुटेपछि माओवादी केन्द्र आइतबार एकाएक एमाले लगायतकाे दलसँग मिल्न पुगे थियाे । त्यसाे त गठबन्धन १५ वर्षसम्म रहन्छ भन्दै चुनावमा चर्का भाषण समेत गरिएका थिए । केन्द्रीय गठबन्धन भत्किए पछि कांग्रेसले संघमा मात्र नभई सात वटै प्रदेशमा पनि सत्ता बाहिर बस्नुपर्ने अवस्था आएकाे हाे ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासमा आइतबार दिउँसो एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जसपा नेपाल, जनमत पार्टीका शीर्ष नेताहरूको बैठकले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा सरकार गठन गर्ने सहमति जुटाएको हो । प्रतिनिधिसभामा यी दलहरूको सांसद सङ्ख्या जोड्दा प्रस्ट बहुमत पुग्छ ।
संसदमा एमालेको ७८, माओवादीको ३२, रास्वपाको २०, राप्रपाको १४, जनमतको ६, नागरिक उन्मुक्ति पार्टीको ४ र जसपाको १२ सांसद रहेका छन् । त्यस्तै प्रभु शाह, अमरेश कुमार सिंह र किरणकुमार साह शीतलनिवासमा पुगेर प्रचण्डलाई प्रधानमन्त्री बनाउन समर्थन जनाएका छन् ।
नेकपा एमाले र नेकपा माओवादी सहित अन्यदलकाे नयाँ गठबन्धन अनुसार प्रदेशगत अवस्था
प्रदेश १ को ९३ सदस्यीय प्रदेशसभामा प्रस्ट बहुमतका लागि कम्तीमा ४७ सांसदको समर्थन आवश्यक हुन्छ । प्रदेशसभामा एमालेको ४०, माओवादी केन्द्रको १३, राप्रपाको ६ र जसपाको १ सांसद छन् । यस आधारमा प्रदेश १ मा यो गठबन्धनले सहजै सरकार गठन गर्न सक्ने देखिन्छ ।
यसैगरी १०७ सदस्यीय मधेस प्रदेशमा बहुमतका लागि कम्तीमा ५४ सांसद आवश्यक हुन्छ । मधेस प्रदेशसभामा एमालेको २३, जनमत पार्टीको १३, जसपा नेपालको १६, माओवादी केन्द्रको ८ राप्रपाको १ सांसद छन् । संघमा गठबन्धन गरेका कारण यी दलबीच मधेस प्रदेशमा पनि तालमेल भएमा सहजै सरकार गठन हुन सक्ने देखिन्छ ।
यस्तै ११० सदस्यीय बागमती प्रदेशमा पनि एमालेसहितको गठबन्धनको सहजै बहुमत पुग्ने देखिन्छ । यो प्रदेशमा सामान्य बहुमतका लागि कम्तीमा ५६ सांसद आवश्यक हुन्छ । यहाँ एमालेको २७, माओवादी केन्द्रको २१, राप्रपाको १३ सांसद छन् । उता ६० सदस्यीय गण्डकी प्रदेशमा बहुमतका लागि कम्तीमा ३१ सांसद आवश्यक पर्दछ । गण्डकी प्रदेशसभामा एमालेको २२, माओवादी केन्द्रको ८, राप्रपाको २ सांसद छन् । त्यसैले यो गठबन्धनको सहजै बहुमत जुट्ने देखिन्छ ।
८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा बहुमतका लागि कम्तीमा ४४ सांसद आवश्यक हुन्छ । यो प्रदेशमा एमालेको २९, माओवादी केन्द्रको ९, जसपाको ३, राप्रपाको ४, नागरिक उन्मुक्ति पार्टीको ४, जनमत पार्टीको ३ सांसद छन् । यस्तै ४० सदस्यीय कर्णाली प्रदेशमा बहुमतका लागि कम्तीमा २१ सांसद आवश्यक पर्दछ । यो प्रदेशमा एमालेका १०, माओवादी केन्द्रका १३, राप्रपाका एक सांसद छन् ।
५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा सामान्य बहुमतका लागि कम्तीमा २७ सांसद आवश्यक हुन्छ । यो प्रदेशमा एमालेका १०, माओवादी केन्द्रका ११, नागरिक उन्मुक्ति पार्टीका ७ र राप्रपाको एक सांसद छन् । यही गठबन्धन कायम रहेमा यो प्रदेशमा पनि सहजै सरकार बन्न सक्छ ।

