मकवानपुर । राजनीतिमा प्रचुर सम्भावना रहन्छ भनिन्छ । यस्तै सम्भावना आइतबार एकाएक भएकाे छ । गत निर्वाचनमा प्रतिनिधि सभामा कुनै पनि दलले बहुमत प्राप्त गर्न नसके पछि राष्ट्रपतिले ७ दिनकाे समय दिएर बहुमतकाे सरकार गठनकाे लागि आव्हान गरेकी थिइन् ।
धेरैकाे अनुमान थियाे सत्तागठबन्धन दलहरुकै समर्थनमा प्रधानमन्त्रीकाे दावी हुन्छ र गठबन्धनकै सरकार बन्नेछ । सत्तागठबन्धनकाे शनिबारसम्म पदीय सहमति जुटाउने प्रयास सम्भव नभए पछि आइतबार त्यसकाे टुङ्गाे लगाउने कसरत भयाे । तर एकाएक नेपाली काँग्रेसले सहमती पालन नगरेकाे भन्दै माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटारबाट बाहिरिए पछी नेकपा एमाले सहितका ७ दलिय गठबन्धन प्रधानमन्त्रीमा दावी पेश गर्न बन्याे । साेही अनुसार प्रधानमन्त्रीमा माओवादी अध्यक्ष प्रचण्डकाे दावी संविधान संमत भएकाेले उनलाई प्रधानमन्त्रीमा नियुक्ति गरिएकाे छ ।
संघीय गठबन्धनमा एक्कासी आएकाे परिवर्तनकाे असर बागमती प्रदेशमा समेत पर्ने निश्चित छ । गत निर्वाचनमा बागमती प्रदेशमा समेत कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त गरेकाे छैन । आइतबारकाे केन्द्रीय राजनीतिकाे घटनाक्रमले नेपाली काँग्रेस प्रतिपक्षमा सिमित हुने छ । प्रदेशहरुकाे अंक गणितमा आकस्मिक फेरबदल नभए ७ वटै प्रदेशमा नेपाली काँग्रेस प्रतिपक्षमा रहने चुनावी परिणामले बताउँछ ।
बागमती प्रदेशमा प्रत्यक्ष र समानुपातिक गरी १ सय १० सिट रहेकाेमा नेपाली काँग्रेसले ३७ सिट प्राप्त गरी पहिलाे दल बनेकाे छ । नेकपा एमाले २७ सिट सहित दाेस्राे बनेकाे प्रदेशमा नेकपा माओवादी केन्द्र २१ सांसद सहित तेस्राे स्थानमा रहेकाे छ । यस्तै राप्रपाकाे १३ सांसद रहेकाेमा नेकपा एकिकृत समाजवादीकाे ७ सिट रहेकाे छ । प्रदेशमा नेपाल मजदुर किसान पार्टी ले ३ सिट प्राप्त गर्दा हाम्राे नेपाली पार्टीले २ सिट ल्याएकाे छ ।
यसरी संसद संख्या हेर्दा नेपाली काग्रेस र नेकपा एसकाे बहुमत पुग्ने देखिदैन । संघीय सहमतीकाे अहिलेकाे गठबन्धनमा तलमाथि नभए बागमती प्रदेशमा नेकपा एमाले, नेकपा माओवादी र राप्रपाकाे बहुमतकाे सरकार बन्ने लगभग पक्का जस्तै छ । ती तीन दलकाे सांसद संख्या ६१ रहेकाेले स्पष्ट बहुमत पुग्ने छ । प्रदेशमा बहुमतकाे सरकार बन्न ५६ सांसदकाे आवश्यक हुन्छ ।
बागमती प्रदेशमा प्रतिनिधित्व गर्ने दलहरुले संसदीय दलकाे नेता चयन गरी सकेका छैनन् । प्रदेशमा पनि नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले आव्हान समेत गरेका छैनन् । सांसदहरुकाे सपथ ग्रहण पुष १३ र १४ गतेकाे लागि ताेकिएकाे छ । यस अघी २०७४ काे निर्वाचनबाट पहिलाे पटक गठन भएकाे प्रदेशमा नेकपा एमालेबाट डाेरमणी पौडेल र अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री भएका थिए । ३ वटा मुख्यमन्त्री पाएकाे बागमतीमा तत्कालिन नेकपा विभाजन भए पछी एमालेलाई मुख्यमन्त्री हुन सघाएकाे माओवादीले माैका पाएन । यस पटक प्रदेशहरुकाे गठबन्धन र पदीय बाडफाँड मिल्न गए बागमती प्रदेशमा माओवादी केन्द्रकाे नेतृत्वमा सरकार बन्ने अवस्था भने देखिन्छ ।
केन्द्रीय सरकारको नेतृत्व माओवादी केन्द्रले गर्ने भएकाेले बागमती प्रदेश सरकारमा भने एमाले र माओवादी केन्द्र दुवैको दाबीलाई नकार्न भने सकिदैन । विगतमा वाम गठबन्धनमा रहेर प्रदेश सरकारको नेतृत्वमा एमालेलाई सहयोग गरेकाले यस पटक बागमती प्रदेशमा आफूहरुले सरकार बनाउन पाउनु पर्ने माओवादी केन्द्र दावी गर्नु स्वभाविक देखिन्छ ।
माओवादी केन्द्रबाट संसदीय दलको नेताका लागि यसअघि २०७४ मा दलको नेता भइसेकाका शालिकराम जम्कट्टेल, माओवादी केन्द्र बागमती प्रदेशका अध्यक्ष सरल सहयात्री पौडेल, युवराज दुलाल ‘शरद’ र माओवादी केन्द्रको चुनाव चिह्नबाट निर्वाचनमा प्रतिस्पर्धा गरेर जितेका नेपाल समाजवादी पार्टीका नेता गंगा नारायण श्रेष्ठ बीच प्रतिस्पर्धा हुने देखिन्छ । संसदीय दलको नेता छान्ने रस्साकस्सी भने जारी छ । सम्भव भए सहमतीमा नभए चुनावै गरेर दलको नेता चयन गर्ने मनस्थितिमा माओवादी देखिन्छ ।
यता एमालेबाट भने पार्टीका केन्द्रीय सदस्य जगन्नाथ थपलिया संसदीय दल नेताकाे एक्ला दावेदारको रुपमा देखिएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली निकट रहेका थपलिया यस अघी मुख्यमन्त्रीका राजनैतिक सल्लाहकार भएर काम गरिसकेका व्यक्ति हुन् । चितवनबाट निर्वाचित थपलिया बागमती प्रदेश सरकारकाे नेतृत्व एमालेले गर्ने सहमती भए मुख्यमन्त्रीका दावेदार रहेकाे बताइएकाे छ ।
शीर्ष तहका नेताहरुबीच हुने समझदारीका आधारमा प्रदेश सरकारको नेतृत्व कुन पार्टीले गर्ने भन्ने कुराको टुंगो लाग्ने प्रतिनिधित्व गर्ने दलहरुले बताएका छन् । संघीय सरकारमा शक्ति बाँडफाँट भएपछि प्रदेश सरकार गठनका विषयमा छलफल अघि बढ्ने बताइएकाे छ ।

