मकवानपुर । कतारमा जारी विश्वकप २०२२ मा शनिबार भएको क्वाटरफाइनल खेलबाट मोरक्को सेमिफाइनल प्रवेश गरेको छ । पोर्चुगललाई १-० ले हराउदै मोरक्को सेमिफाइनल प्रवेश गरेको हो ।
मोरक्कोलाई सफलता दिलाउन युसुफ एन नेस्रीले ४२औं मिनेटमा अतिहा अल्लाहको पासमा निर्णायक गोल गरे । मोरक्कोले नयाँ इतिहास रच्दै विश्वकप फुटबलको सेमिफाइनलमा पुग्ने पहिलो अफ्रिकन टिम समेत बनेको छ । कतारको अल थुमामा स्टेडियममा भएको खेलको इन्जुरी टाइममा वालिद चेडिराले दोहोरो पहेँलो कार्ड पाएपछि बाहिरिएका थिए । दश खेलाडीमा सिमित मोरक्कोले पोर्चुगललाई घर पठाएको हो ।
मोरक्कोले अन्तिम १६ मा पूर्व विजेता स्पेनलाई पेनाल्टीसुटआउटमा पराजित गरेको थियो । त्यसक्रममा क्वाटरफाइनलमा मोरक्कोले क्रिस्टियानो रोनाल्डोको पोर्चुगललाई पराजित गर्यो । मोरक्कोले फ्रान्स र इंग्ल्याण्डबीच हुने अन्तिम क्वाटरफाइनलको विजेतासँग सेमिफाइनलमा खेल्नेछ ।

