मकवानपुर । गत बैशाख ३० मा सम्पन्न स्थानीय तह सदस्य निर्वाचनकाे मतका आधारमा पहिलो भएको मकवानपुर काँग्रेस आम निर्वाचनसम्म आईपुग्दा उस्ले प्राप्त गरेकाे मत संख्याकाे आधारमा चौथो भएको छ ।
६ महिनाको अन्तरालमा मकवानपुर कांग्रेस कसरी यतिधेरै खुम्चियो ? यसमा कारण दुई कारण छन्, पहिलो मकवानपुर कांग्रेस पार्टी भित्र नै रहेको अन्तरद्वन्द्व, दोस्रो गठबन्धनभित्रको असन्तुष्टि । गत स्थानीय तहको निर्वाचनमा जस्तै गत मंसिर ४ मा भएको आम निर्वाचन २०७९ मा बाम लोकतान्त्रिक गठबन्धन थियो तर, उबेला पहिलो शक्ति बनेको कांग्रेस अहिले चौथो बन्यो ।
नेपाली कांग्रेस मकवानपुरको राजनीतिमा आम निर्वाचनले उथलपुथल ल्याईदियो । पार्टीलाई अन्तरघात गर्नेहरूलाई कुनै पनि हालमा ‘नछोड्न’ कार्यकर्ताहरू दबाब दिइरहेका छन् । गत बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा सबैभन्दा धेरै जनप्रतिनिधि जितेर पहिलो स्थानमा पुगेको कांग्रेस ६ महिनाको अन्तरालमा एक मात्र सिट जितेर चौथो स्थानमा पुगेको हो । मकवानपुरमा रहेको १० स्थानीय तहमध्ये ५ वटा स्थानीय तहमा अध्यक्ष, जितेर जिल्लामा प्रथम भएको मकवानपुर कांग्रेस प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनसम्म आईपुग्दा चौथो बरियतामा पुगेपछि यतिबेला नेतृत्वलाई कार्यकर्ताले धोका दिनेलाई कारवाही गर्न दबाब दिइरहेका छन् ।
आम निर्वाचनमा नेकपा एमाले एक प्रतिनिधिसभा तथा एक प्रदेशसभा सहित प्रथम स्थानमा रहँदा नेकपा माओवादी केन्द्र दुईवटा प्रदेशसभा सहित दोस्रो, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) एक प्रतिनिधिसभा सहित तेस्रो हुँदा नेपाली कांग्रेस एउटा प्रदेशसभामा मात्र खुम्चियो ।
गठवन्धनबाट नेपाली कांग्रेसले एक प्रतिनिधिसभा सहित दुईवटा प्रदेशसभामा उम्मेदवारी दिएको थियो । तर कांग्रेसबाट प्रतिनिधिसभा क्षेत्र नंबर १ की उम्मेदवार महालक्ष्मी उपाध्यय डिना र १ को ‘१’ बाट प्रदेशसभा सदस्यको उम्मदवार बनेका आनन्दराम पराजुली पराजित बने । कांग्रेसको तर्फबाट क्षेत्र नंबर २ को ‘२’बाट इन्द्रबहादुर बानीयाँमात्र विजयी बने ।
एमालेबाट प्रतिनिधिसभा क्षेत्र नंबर २ मा महेश बर्तौला विजयी बन्दा क्षेत्र नंबर १ को ‘१’मा एकालाल श्रेष्ठ विजयी बने । माओवादी केन्द्रबाट मकवानपुरको क्षेत्र नंबर १ को ‘१’ र २ को ‘१’ मा क्रमशः प्रेमबहादुर पुलामी तथा कुमारी मोक्तान विजयी बने ।
गठबन्धनको बलमा गत स्थानीय तहको निर्वाचनमा पहिलो भएको मकवानपुर कांग्रेसले हार्नुको कारण खोजि गर्ने बताएको छ । नेपाली कांग्रेसकी सह–महामन्त्री महालक्ष्मी उपाध्यय ‘डिना’ गठवन्धनको पक्षमा जनलहर रहेको अवस्थामा पनि अप्रत्यासित हार भएको भन्दै हारको बारे समिक्षा गरिने डिना बताउँछिन् । चुनावी नतिजा सार्वजनिक भए लगत्तै मकवानपुर कांग्रेसले हार्ने समूह र जित्ने समूहले छुट्टाछुट्टै पत्रकार सम्मेलन गरे । यसले पनि मकवानपुर कांग्रेस भित्रको अन्तरद्वन्द्व छर्लङ्ग पारेको छ । अहिले कांग्रेसको एउटा पक्ष हारको समिक्षा गरिरहेको छ भने, अर्को पक्ष जितको उल्लास मनाइरहेको छ ।
नेता मिनेन्द्र रिजाल प्यानल निकट डिना र पराजुलीलाई हराउन कांग्रेसकै अर्को धारको कार्यकर्ता परिचालन गरिएको आरोप लगाईएको छ । जसमा कांग्रेस जिल्ला सभापति बुद्ध लामाको समेत नाम मुछिएको छ । जिल्ला सभापति लामा, प्रदेश सभा सदस्यमा नवनिर्वाचित इन्द्रबहादुर बानियाँ, शेरबहादुर देउबा प्यानलका हुन् । कांग्रेस बागमती प्रदेश सभापति समेत रहेका बानियाँले चुनावअघि गठबन्धनको समर्थन गर्ने निर्देशन गर्दै यो चुनावमा धोका दिनेलाई कुनैपनी हालतमा ‘नछाड्ने’ बताउंदै आएका थिए । तर जब आफूलाई जनमत प्राप्त भयो,र आफ्नो पार्टीको अर्को समूह पराजित भयो,अहिले उनको बक्तब्य फेरिएको छ ।
जितपछी आयोजित पत्रकार सम्मेलनमा नेपाली कांग्रेसका बागमती प्रदेश सभापति तथा मकवानपुर क्षेत्र नंबर २ को प्रदेशसभा ‘२’ का नवनिर्वाचित प्रदेशसभा सदस्य इन्द्रबहादुर बानीयाँले कांग्रेसले मकवानपुरको प्रतिनिधिसभा तथा प्रदेशसभा गुमाउनुको कारण गएको स्थानीय तहमा राप्रपाका दिपक बहादुर सिंहलाई दिईएको अनावश्यक राजनीतिक ‘स्पेस’ रेहेको बताए ।
बानीयाँले हिजो (स्थानीय तह निर्वाचनमा) कांग्रेस, माओवादी सहितका पार्टीका नेताहरुले सिंहलाई हेटौँडामा स्थान दिएको र सोहि स्थानको जगमा रहेर सिंहले अहिले जित हाँसिल गरेको बताए । “चुनावमा पराजय भोगेपछि आरोप प्रत्यारोपमा लाग्नु भन्दा आफूले गरेको कमजोरी सम्झेर ‘मम’ भन्दै बस्नुपर्छ” उनले भने । “चुनाव जितेपछि आफ्नो मेहनतको कारण भन्ने अनि हारेपछि अरुलाई आरोप प्रत्यारोप लगाईने काम गलत हो” बानियाँले भने “मकवानपुरमा गठवन्धनको मत सुरक्षित छ ।”
यता हार्ने समूहले हेटौंडामा छुट्टै पत्रकार सम्मेलन गरेर हारको समिक्षा गर्ने बताएको छ । पत्रकार सम्मेलनमा कांग्रेस सहमहामन्त्री समेत रहेकी डिनाले पार्टी भित्र भएका आन्तरिक त्रुटी र असन्तुष्टिको कारण हार भएको बताइन् । “कारबाहीको लागि कार्यकर्ताको दबाब स्वाभाविक हो, हामी समिक्षा गर्छौ र प्रमाण भेटिएपछि बोल्छौ” उनले भनिन् । यो तरिकाले कांग्रेस नरहने उनले प्रतिक्रिया दिइन ।
मकवानपुर–१ मा गठवन्धनको मतान्तर प्रतिस्पर्धीहरुको भन्दा १० औँ हजार बढि रहेको अवस्थामा हार बेहोरेपछि पत्रकार सम्मेलनको आयोजना गरि डिनाले हारको गम्भिर समिक्षा गरिने बताईन् । पार्टीको हारबारे समिक्षा सहित प्रमाण फेला परेको अवस्थामा कारबाही पनि गरिने उनले बताईन् ।
प्रदेशमा पहिलो हुंदा पनि कांग्रेसलाई तनाव
यता आम निर्वाचन २०७९ को हालसम्म सार्वजनिक अन्तिम नतिजामा नेपाली कांग्रेस बागमती प्रदेशमा पहिलो स्थानमा छ। सत्ता गठबन्धनमा कांग्रेस पहिलो स्थान हुंदा,अन्य दल भने पछि परेका छ । यो नतिजाले गठबन्धनमा सहभागी दलहरू कांग्रेसको भूमिकाप्रती असन्तुष्ट बनेका छन् । कांग्रेसमाथी गठबन्धनका दलहरूले शंका गर्न थालेका छन् । यसले हालको सत्ता गठबन्धनलाई धक्का दिनसक्ने विश्लेषण गर्न थालिएको छ ।
बागमती प्रद्रेशमा हालसम्मको नतिजा अनुसार कांग्रेस २३ सिट सहित पहिलो स्थानमा छ । माओवादी केन्द्र १३ सिट सहित दोस्रो र नेकपा एमाले १० सिट सहित तेस्रोमा छ भने गठबन्धनको साझेदार अर्को पार्टी एकीकृत समाजवादी ४ सिट सिट सहित पांचौ स्थानमा छ । ५ सिट सहित चौथो स्थानमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीलाई कांग्रेसको समर्थन रहेको आशंका गरिएको छ ।

