मकवानपुर । मकवानपुरमा प्रतिनिधिसभा समानुपातिकतर्फको मतगणनामा नेकपा एमालेले बढी मत प्राप्त गरेकाे छ । जिल्लामा २ वटै प्रतिनिधि सभा क्षेत्रमा एमालेले समानुपातिक मत बढी प्राप्त गरेकाे हाे ।
गणना भएको १ लाख ७७ हजार ८५८ मतमा नेकपा एमाले पहिलो दल बनेको हाे । एमालेले क्षेत्र नं.१ बाट २२ हजार ६११ र २ बाट २८ हजार १९६ गरी कुल ५० हजार ८०७ मत प्राप्त गरेको छ ।
नेपाली कांग्रेस ३६ हजार २६४ मत सहित दोस्रो दल बनेको छ । काँग्रेसले क्षेत्र नं. १ बाट १४ हजार ७५३ र क्षेत्र नं. २ बाट २१ हजार ५११ मत प्राप्त गरेकाे हाे । रबि लामिछाने नेतृत्व राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) २९ हजार ८८९ मत सहित तेस्रो भएको छ । उसले क्षेत्र १ बाट १८ हजार ६०७ मत प्राप्त गरेकाे छ भने क्षेत्र २ बाट ११ हजार २८२ मत प्राप्त गरेकाे छ ।
त्यस्तै नेकपा माओवादी केन्द्रले क्षेत्र १ बाट १३ हजार १३८ र क्षेत्र २ बाट १२ हजार ९९५ मत गरी २६ हजार १३३ मत सहित चौथो बन्दा राष्ट्रिय प्रजातन्त्र पार्टी १६ हजार ७७१ मत सहित पाँचौ स्थानमा रहेको छ । उसले क्षेत्र १ बाट १३ हजार ७४२ मत र क्षेत्र २ बाट ३ हजार २९ मत प्राप्त गरेकाे हाे । माधव कुमार नेपाल नेतृत्वको नेकपा एकिकृत समाजवादीले क्षेत्र १ बाट १ हजार २४७ र क्षेत्र २ बाट २ हजार ५८० सहित ३ हजार ८२७ मत मात्रै प्राप्त गरेको छ ।
१ लाख ७७ हजार ८५८ मतमध्ये १ लाख ७० हजार १६६ सदर हुँदा ७ हजार ६९९ मत बदर भएको मुख्य निर्वाचन अधिकृत कार्यालयले जनाएको छ । प्रत्यक्षतर्फ दुई प्रतिनिधिसभा रहेको जिल्लामा एमाले र राप्रपाले एक/एक स्थानमा जितेको छ । प्रदेशसभामा माओवादी केन्द्रले दुई स्थानमा बाजी मार्दा एमाले र कांग्रेस एक–एक स्थानमा जितेको छ ।
प्रदेश सभा तर्फकाे सममानुपातिक मत गणना भइरहेकाे छ । शनिबार आज साझसम्म प्रदेश सभानुपातिककाे समेत मत नतिजा सार्वजनिक भइसक्ने बताइएकाे छ ।

