नुवाकोटको निर्वाचन क्षेत्र नं २ मा नेपाली कांग्रेसका उम्मेदवार अजुर्ननरसिंह केसी निर्वाचित भएका छन् । २०७४ को निर्वाचनमा एमालेका उम्मेदवार नारायणप्रसाद खतिवडासँग दश हजार मतान्तरले पराजित भएका केसी यो पटक तेस्राे स्थानमा रहेका खतिवडाभन्दा १२ हजार पाँच सय ६४ मतान्तरले निर्वाचित भएका हुन् ।
सत्तारुढ पाँच दलीय लोकतान्त्रिक–वाम गठबन्धनको साझा उम्मेदवारको रुपमा रहेका कांग्रेसका उम्मेदवार केसीले २८ हजार १ सय सात मत ल्याएर विजयी भएका हुन् । निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका सुमनविक्रम पाण्डेले १६ हजार ४ सय ७७ र नेकपा (एमाले)का उम्मेदवार खतिवडाले १५ हजार पाँच सय ६१ मत ल्याए ।
मङ्सिर ४ मा भएको निर्वाचनमा कूल ७७ हजार चार मत खसेकाे थियाे । शनिबार बिहान सकिएकाे मतगणनाको अन्तिम नतिजाअनुसार राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार झनक प्याकुरेलले १ हजार ५ सय ७१ मत ल्याए । चुनावी प्रतिस्पर्धामा तीन स्वतन्त्रसहित ११ मध्ये अन्य उम्मेदवारको मत एक हजारभन्दा कम रहेको मुख्य निर्वाचन अधिकृतकाे कार्यालयले जनाएकाे छ ।
