मकवानपुर । नेपाली काँग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाले मतदाताकाे मन जितेर पनि मतले हारेकाे बताएकी छिन् । चुनावी परिणाम पछि हेटौडामा पत्रकार सम्मेलन गरेर मकवानपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य पदमा पराजित डीनाले निर्वाचनमा मतले हारेकाे भए पनि जनताको साथमै रहने बताएकी छिन् ।
शुक्रबार हेटौंडामा गरिएकाे पत्रकार सम्मेलन उनले प्राविधिक त्रुटिका कारण चुनाव हार्नुपरेको समेत बताइन् । डिनाले प्राविधिक त्रुटिका कारण निर्वाचनमा हार व्यहोर्नु परेकाे बताएकी हुन् । उनले प्राविधिक त्रुटिहरुको बारेमा समिक्षा गरिने बताइन् । चुनावमा सहभागी हुँदा जीत सुनिश्चित भएकै अवस्थामा होमिएको र केही त्रुटिका कारण चुनावमा पराजित हुन बाध्य भएको बताएकी हुन् ।
मतदाताहरुको उत्साह र मायालाई निर्वाचन पराजित भएपनि निराशामा परिणत हुन नदिने डिनाको भनाई थियो । घरदैलोमा जाँदा मतदाताहरुले भनेको कुराहरु र जनताहरुको आशा र भरोसा पराजित हुँदा पनि कानमा गुञ्जिरहेका स्मरण गर्दै उनले मतदाताको आवाजलाई गठबन्धनको सरकारमा पार्टीको तर्फबाट पुर्याउने प्रतिबद्धता जनाइन् । आम मतदाताले उत्साहका रुपमा मतदान गरेकोमा उनले धन्यवाद व्यक्त गरिन् ।
हरेक पार्टीमा घात–अन्तरघात र सन्तुष्ट–असन्तुष्ट भइरहने बताउँदै उनले यस बारेमा पनि समिक्षा गर्ने डिनाले बताइन् । चुनावी अभियानका क्रममा मतदाताहरुले भनेका कुरा, मतदाताहरुको सपना र जिल्लाको विकासका लागि निरन्तर लागिपर्ने उनले प्रतिबद्धता जनाइन् ।
गठबन्धनकै तर्फबाट प्रदेश सभा सदस्यको उम्मेदवार बनेर पराजित भएका कांग्रेसका नेता आनन्दराम पराजुलीले जनताको मतको सदैव सम्मान गर्ने बताए । ‘निर्वाचित हुने सबैजनालाई बधाई छ,’ उनेल भने, ‘प्राविधिक कारण हामीले हार व्यहोरेका छौं ।’ हारेपनि हामी आम मतदाताबाट कहिल्यै टाढा हुनेछैनौं’, उनले भने, ‘मतदातालाई धन्यवाद व्यक्त गर्न सबैको घरदैलोमा आउनेछौं ।’ माननीय भएर कलम चलाउन नपाएपनि सेवा गर्ने हातहरु नरोकिने पराजुलीको भनाई थियो ।
‘होला जनप्रतिनिधि हुँदा धेरै काम गर्न सकिन्थ्यो होला । जनप्रतिनिधि नहुँदा पनि सकेको काम गर्नेछौं । तपाईको मतको कहिल्यै अपमान गर्ने छैनौं । तपाईको शिर झुक्ने काम कहिल्यै गर्नेछैनौं’, उनले भने । जनताको मतको सदैव सम्मान गर्ने पराजुलीले बताए ।

