मकवानपुर । नेपाली काँग्रेस मकवानपुरले १६ जनालाई कारवाही गरेकाे छ । आसन्न प्रदेश सभा तथा प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवार तथा उनीहरुलाई सहयाेग गरेका १६ जना कारबाहीमा परेकाे काँग्रेस मकवानपुरले जनाएकाे छ ।
विगतमा काँग्रेसका विभिन्न जिम्मेवारीमा रहँदै निर्वाचनकाे समयमा राष्ट्रिय स्वतन्त्र पार्टी, स्वतन्त्र राजनैतिक शक्ति पार्टीका उम्मेदवारसहित कारवाही गरिएकाे काङ्ग्रेस मकवानपुरको जिल्ला अनुशासन समितिले मंगलबार पार्टी कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी जनाएको हो ।
कारबाहीमा पर्नेमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधि सभातर्फ मकवानपुर क्षेत्र २ का उम्मेदवार भरत पराजुलीलाई कारवाही गरिएको जनाएको छ । पराजुली नेपाली काङ्ग्रेसको पूर्व महासचिव सदस्य हुन् । यस्तै स्वतन्त्र राजनैतिक शक्ति पार्टीबाट प्रतिनिधि सभा सदस्यतर्फ मकवानपुर क्षेत्र नम्बर २ का अर्का उम्मेदवार धिरज विक्रम न्यौपानेलाई पनि कारवाही गरिएको काङ्ग्रेस मकवानपुरका सभापति बुद्ध लामाले जानकारी दिए । न्यौपाने काङ्ग्रेसको क्रियाशील सदस्य रहेको बताइएको छ । यस्तै पूर्व महासमिति सदस्य रिता खनाल पनि कारवाहीमा परेकी छिन् । उनी पछिल्लाे समय काँग्रेस विपिमा आबद्ध रहेकी छिन् ।


