मकवानपुर । आफू र पार्टीलाई राष्ट्रवादी बताउँदै आएका राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुकमा विदेशी दबाब र प्रभाव बढ्दै गएकाे बताएका छन् । नेकपा एमालेकाे चुनाव चिन्हबाट मकवानपुर क्षेत्र नम्बर १ का उम्मेदवार रहेका थापाले विदेशीको दवाव र प्रभाव रोक्न राष्ट्रवादी शक्ति एकजुट हुनुपर्ने बताए ।
सवै राष्ट्रवादी शक्ति एकजुट हुनु पर्ने अवस्था आएकोले एमालेको चुनाव चिन्ह सुर्यबाट आफूले निर्वाचन लडेको उनले बताए । एमाले पनि राष्ट्रवादी शक्ति रहेका बताउँदै मंगलबार मकवानपुरको हेटौंडामा भएको चुनावी सभामा थापाले मुलुकको स्वाधीनता र स्वाभिमानको रक्षा, राष्ट्रियताको संरक्षण, प्रजातन्त्रको सुदृढीकरण र आर्थिक समृद्धि, भ्रष्टाचार अन्त्यको निमित्त राष्ट्रवादी शक्तिको सरकार बन्नुपर्ने आवश्यकता रहेकाे बताए ।
मुलुकमा बेथिति र कुशासन ल्याउने शक्ति जनताले चिन्नुपर्ने भन्दै थापाले भ्रष्टाचारलाई अन्त्य गर्न एमाले अध्यक्ष के पी ओलीको नेतृत्वमा सरकार बन्न जरुरी रहेको समेत बताए । मकवानपुरको अपुरो बिकासको काम सम्पन्न गर्न पनि आफू चुनाबमा होमिएको उनकाे दावी रहेकाे छ । थापाले एमाले अध्यक्ष ओली नेतृत्वमा सरकारमा सँगै रहँदा धेरै राष्ट्रवादी र देशहितमा काम गरेको भन्दै गठबन्धनको नाममा ब्रम्हलुट र कुशासनको अन्त्य गर्नको निमित्त राष्ट्रवादी शक्तिलाई आगामी निर्वाचनमा विजयी गराउनु पर्नेमा उनले जाेड दिएका छन् ।

अन्य पार्टीका मतादाले पनि एमालेलाई मत दिन्छन्–– एकालाल श्रेष्ठ
नेकपा एमाले मकवानपुर अध्यक्ष एकलाल श्रेष्ठले अन्य पार्टीका मतदाताले पनि एमालेलाई मत दिने बताएका छन् । मकवानपुर क्षेत्र नम्बर १ प्रदेश सभा ख का उम्मेदवार श्रेष्ठले मंगलबार हेटौंडामा भएको चुनावी सभालाई सम्बोधन गर्दै मुलुक जोगाउने एकमात्र पार्टी नेकपा एमाले भएकोले एमालेका मतदातासहित अन्य पार्टीकाले पनि एमालेमा मत दिने बिश्वास ब्यक्त गरेका हुन् ।
एमालेले सुरु गरेको समृद्ध नेपाल, सुखी नेपालीको नारालाई सार्थक पार्न एमाले सधैं लागिरहेको उनले बताए । श्रेष्ठले आर्थिक वृद्धिका संवाहकका रुपमा रहेका कृषि र वन, उद्योग, पर्यटन, ऊर्जा, यातायात तथा सूचना प्रविधि तथा भौतिक पूर्वाधारको तीव्र विकास नेकपा एमालेको प्राथामिकतामा रहेको समेत बताए । केपी ओली नेतृत्वको सरकारले नाकाबन्दीको सामना, चीनसँग पारवहन सम्झौता, गुमेको भूभागलाई नक्समा समाहित गर्दै नागरिकका मुर्छित सपनालाई जगाउने काम गरेको उनले बताए ।

गठबन्धनले जनताको मताधिकारमा कुठाराघात गर्यो–डोरमणि पौडेल
बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलले गठबन्धनले जनताको मत हाल्न पाउने अधिकारलाई कुठाराघात गरेको बताएका छन् । आफ्नो पार्टीमा भोट हाल्न पाउने अधिकारलाई रोकेर गठबन्धनको नाममा उम्मेदवारी नै नदिएको उनले बताए । उनले चुनावी सभामा भने ‘नेकपा एमालेको सरकार बन्नु बाहेकको विकल्प छैन् ।’
बहुमत आउन सक्ने भन्दा कम क्षेत्रमा उम्मेदवार खडा गरेर बहुमत ल्याउने सबै पार्टीले अस्तित्व गुमाएको उनले बताए । ‘बहुमत ल्याउन नसक्ने गरि उम्मेदवारी दिने पार्टीले देशको भलो गर्न सक्दैन’ पाैडेलले भने ‘गठबन्धनका मान्छे पूर्व जानुपर्ने पश्चिम जान्छन् पश्चिम जाने पुर्व जान्छ्न, यस्ताले देशलाई समृद्ध बनाउन सक्दैनन् ।’ गठबन्धनको अहिलेको योजना लुट्ने र खाने मात्र भएको भन्दै यस्तो प्रवृत्तिलाई निर्वाचन बाट बढार्नु पर्ने उनकाे भनाइ थियाे । बिकास चाहने हो भने एमालेको सरकार बन्नुपर्ने भन्दै छोटै समयमा धेरै काम गरेपनी बिकास एमालेको पालामा भएको उनले जानकारी दिए ।
बर्तमान सरकार बिदेशीको लागि कम्फर्टेबल सरकार बनाउन लागि परेको छ उनले भने ‘अहिले हामीले बिदेशीको लागि नभई नेपालीको लागि सरकार निर्माण गर्नुपर्छ त्याे सरकार एमालेले मात्र बनाउने छ ।’ जनताको काम गर्न के पी ओलि अझै पनि जनताको काममा रातदिन खटिरहेको पनि उनले बताए । यस्तै मकवानपुरकाे अर्काे औधाेगिक क्षेत्र मयुरधाप औद्योगिक क्षेत्रको सुरुवात भएपछि हेटौडा उपमहानगरपालिका क्षेत्र र १४ नम्बर वडाबासीले प्रत्यक्ष लाभ लिने उनले बताए ।

