मकवानपुर । आसन्न निर्वाचनकाे प्रचार प्रसार गर्ने अवधी सकिनै लाग्दा मकवानपुरमा उम्मेदवारहरु मत आकर्षित गर्ने गरी प्रचार प्रसारमा व्यस्त छन् । चुनावी सभाहरुमा उनीहरुकाे भाषण आश्वासनले भरिएकाे हुन थालेकाे छ । प्रचार प्रसारमा जुन क्षेत्रमा पुग्याे त्यहीकाे मत आकर्षित हुने गरी उम्मेदवारहरु जनतालाई आश्वस्त पार्न खाेजिरहेका छन् ।
मकवानपुर क्षेत्र नम्बर १ प्रदेशसभा क का उम्मेदवार प्रेम बहादुर पुलामी छिन्तु ले गठबन्धन सरकार बन्ने वित्तिकै पहिलो प्राथमिकतामा लालपुर्जा वितरण प्रक्रियामा सुरु गरिने बताएका छन् । मंगलबार बकैया गाउँपालिका वडा नम्बर २ तिनभंगालेमा आयोजित चुनाबीसभामा नेकपा माओवादी केन्द्र बागमती प्रदेश उपाध्यक्ष छिन्तुले यस क्षेत्रमा अधिकांश जनता भूमिहिन भएकाले गठबन्धन सरकार बन्ने वित्तिक्कै आफुले लालपुर्जा वितरण प्रक्रियामा पहल गर्ने दाबी गरेका छन् ।
‘अहिले विभिन्न प्रलोभन देखाएर जनताको अधिकार लुट्न प्रतिगामीहरु सल्बलाएकोले बेलैमा चिनेर परास्त गर्नु पर्छ’ उम्मेदवार छिन्तु भने । अहिले सडक, कृषि , स्वास्थ्य , शिक्षा, रोजगारी लगायत क्षेत्रमा समस्या रहेको बताउँदै प्रदेश सरकारको पहलमा विकासको मूल फुटाउने प्रतिबद्धता समेत व्यक्त गरे । उनले मंसिर ४ गते हुने निर्वाचनमा मतदाता र बुथ सुरक्षाका लागि तयारी अवस्थामा रहन गठबन्धनका युवाहरुलाई निर्देशन समेत दिएका छन् । उम्मेदवार छिन्तुले मुलुकको विकास र समृद्धि गर्ने जिम्मेवारी लोकतान्त्रिक बाम गठबन्धनकै भएकाले भ्रममा नपरी गठबन्धनका उम्मेदवारलाई मतदान गर्न मतदातालाई आग्रह समेत गरेका छन् ।
गठबन्धनका बकैया वडा नम्बर २ का प्रचारप्रसार संयोजक अशोक जिम्बाको अध्यक्षतामा भएको कार्यक्रममा माओवादी बागमती प्रदेश सदस्य सुमन पाख्रिन, जिवन गोले र लक्ष्मी पाख्रिन, गठबन्धनका क्षेत्र नम्बर १ का प्रचारप्रसार संयोजक दामोदर खनाल र नेकपा एकिकृत समाजवादीका नारायण तिमल्सिना लगायतको सहभागिता रहेको थियो ।

