मकवानपुर । ग्रामिण जागरण विकास संस्था नेपाल (राडो नेपाल) आर्थिक वर्ष २०७८ /०८९ मा ७ करोड २३ लाख बजेटको विभिन्न कार्यक्रम गरेको छ ।
शिक्षा, स्वास्थ्य, खानेपानी, बालमैत्री शासन, बाल विवाह विरुद्धलगायतको विभिन्न क्षेत्रमा कार्यक्रम सञ्चालन गर्दै आएको संस्थाले आगामी आर्थिक वर्षको लागि पनि सामाजिक तथा भाैतिक कार्य गर्नकाे लागि कार्यक्रमहरु प्रस्ताव गरेको छ ।
संस्थाले आर्थिक वर्ष २०७८/ ०७९ मा विभिन्न निकायहरुसंग सहकार्य गरी लक्ष्यित वर्गमा विभिन्न कार्यक्रम गरेको हो । संस्थाले २९ औं साधारण सभामा सार्वजनिक गरेको प्रतिवेदन अनुसार प्लान इन्टरनेशनल नेपालसंगको सहकार्यमा सञ्चालित विपद जोखिम न्युनीकरण जलवायु परिवर्तन अनुकुलन कार्यक्रम, खानेपानी योजना निर्माण मर्मतसुधार, कोभिड प्रभावित परिवार पालिकालाई सहयोग, वाल संरक्षण तथा मानव वेचविखन विरुद्ध कार्यक्रम र प्रत्याभुत संचार कार्यक्रम अन्तरगत कार्यक्रमहरु गरेको कार्यक्रम संयोजक दिपेन्द्र पाठकले बताए ।
यस अन्तरगत खानेपानी योजना निर्माण ३ वटा योजना पुरा गरेको छ । जसबाट मकवानपुरगढी र मनहरी गाउँपालिकाको १६४ घरधुरी लाभान्वित भएका छन् ।
मनहरी, भिमफेदी र बागमती गाउँपालिकाहरुमा खानेपानी योजना निर्माण मर्मतसुधार अन्तरगत ९ वटा विद्यालयहरुमा काम गरिएको छ । यसैगरी कोभिड प्रभावित १४० परिवारलाई खाद्यन्न सहयोग गरिएको संस्थाले जनाएको छ । जसमा प्रति परिवार १३ हजार ५ सयको दरले सहयोग गरिएको थियो ।
सामाजिक जागरण कार्यक्रममा समेत भूमिका निर्वाह गर्दै आएको संस्थाले कोरोना भाइरसको महामारीको बेलामा मास्क लगाउ अभियान नै सञ्चालन गरेको थियो । यस्तै यसै अभियान अन्तरगत कोभिड विरुद्धको खोप अभियानमा ३०० महिला स्वास्थ्य स्वयमसेविका परिचालन गरी जिल्लाको १० वटै स्थानीयहहरुका अस्पतालहरुमा कोभिड विरुद्धका मेडिकल सामग्री सहयोग गरेको थियो ।
संस्थाले बालमैत्री स्थानिय शासनयुक्त पालिका निर्माण तथा घोषणामा समेत सहयोग गर्दै आएको छ । यसैगरी बाल विवाह, मानब बेचबिखन विरुद्धका अभियानहरु गर्दै आएको अध्यक्ष कृष्ण धितालले बताए ।
राडो नेपालले जिल्लाको ४ वटा पालिकाहरुमा बाल आकस्मिक कोष स्थापना तथा कार्यविधि निर्माणमा सहयोग गरेको धितालले बताए । यसैगरी २ पालिकाहरुमा स्थानिय आपतकालिन कार्य संचालन कक्ष स्थापना, कार्यविधि निर्माण तथा सामग्री सहयोग गरेको छ ।
संस्थाले विगतमा विनाशकारी भुकम्पमा परेर आवास गुमाएका ७५६ परिवारलाई ५ लाख बराबरको आवास नै निर्माण गरी हस्तान्तरण गरेको धितालले बताए । यसैगरी जिल्लाको विभिन्न खोलाहरुमा झोर्लुङ्गे पुल निर्माण कार्यक्रमा समेत सहयोग गर्दै आएको छ ।
ग्रामिण जागरण विकास संस्था नेपाल (राडो नेपाल) को २९ औं साधारण सभा सम्पन्न भएको छ । संस्थाको अध्यक्ष कृष्ण धितालको अध्यक्षता तथा मकवानपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेब पाण्डेको प्रमुख आतिथ्यमा कार्यक्रम भएको छ । कार्यक्रममा प्रजिअ पाण्डेले गैरसकारी संस्थाले नागरिक कर्तव्य र अधिकारको सवालमा पनि अभिभाकत्वको भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता रहेको औल्याए । अनुशासनहिनता बढ्दै आएको अवस्थामा गैससहरुले नयाँ पिढीलाई सचेत र शिक्षिक बनाउन समन्वयकारी भूमिका निर्वाह गर्नुपर्ने पाण्डेले बताए ।
कार्यक्रममा गैसस महासंघ केन्द्रीय सचिव बुद्धशरण लामाले आर्थिक पारदर्शिताको कारण गैससहरुले सहज काम गर्न सकेको बताए । केन्द्रीय सचिव लामाले गैससहरुलाई सहज कामको लागि स्थानीय तहहरुसँगको सहकार्य आवश्यक भएको बताए ।

