मकवानपुर । आगामी ४ मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि मकवानपुरमा पनि मनोनय दर्ता कार्यक्रम उल्लाषका साथ भएको छ । मनोनयन दर्तापछि सबै उम्मेवारहरुले आफ्नो जित सुनिश्चित भएको प्रतिक्रिया दिएका छन् । २ प्रतिनिधि सभा र ४ प्रदेश सभा निर्वाचन क्षेत्र रहेको मकवानपुरमा कुनै क्षेत्रमा दुई पक्षिय त कुनै क्षेत्रमा त्रिपक्षिय प्रतिष्पर्धा हुने भएको छ । नेकपा एमाले, राप्रपा र गठबन्धनबिच सबैभन्दा बढी प्रतिष्पर्धा हुने देखिएको छ ।
मकवानपुर जिल्लाको प्रतिनिधी सभा र प्रदेशसभाको निर्वाचन क्षेत्रमा नेपाल कम्युनिष्ट पार्टी एमाले मकवानपुरले ५ जना आफ्ना नेतालाइ उम्मेदवार बनाएको छ भने एक जना राप्रपा नेपालका केन्द्रीय अध्यक्ष कमल थापालाई अध्यक्ष बनाएको छ ।
गत स्थानीय तहको निर्वाचनमा अनपेक्षित हार बेहोरेको नेकपा एमालेले आगामी निर्वाचनबाट भने सोधभर्ना गर्ने बताएको छ । निर्वाचन अधिकृतको कार्यालयमा प्रतिनिधीसभा र प्रदेशसभाका उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएपछि पार्टी नेताहरुले यस्तो बताएका छन् ।
एमालेले मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर–१ मा एमालेका तर्फबाट राप्रपा नेपालका अध्यक्ष कमल थापाले उम्मेदवारी दर्ता गराएका छन् ।
प्रतिनिधी सभा क्षेत्र नम्बर–२ मा एमाले बागमती प्रदेशका उपसचिब तथा प्रचार विभागका प्रमुख महेश कुमार बतौलाले उम्मेदवारी दर्ता गराएका छन् ।
यसैगरी क्षेत्र नम्बर–१ को क मा एमालेका बागमती प्रदेश सदस्य कमल बहादुर विष्ट र ख मा एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् ।
यसैगरी प्रतिनिधीसभा क्षेत्र नम्बर–२ को क मा बिष्णु ढुकाल र ख मा लालबहादुर थापाले उम्मेदवारी दर्ता गराएका छन् ।

