मकवानपुर । गैरसरकारी संस्था महासंघ बागमती प्रदेशले नागरिक खोप अन्तरगत सीमान्तकृत र जोखिममा परेका समूदायको पहुँचबारे अनुसन्धान बिश्लेषण प्रतिवेदन सार्वजनिक गरेको छ ।
दशैलगायत पर्वहरुको अवसरमा शुभकामना आदनप्रदान कार्यक्रममा गैससले यस्तो प्रतिवेदन सार्वजनिक गरेको हो । गैसस महासंघ, माइती नेपाल र हिमराइट्स मकवानपुरले नागरिक खोप अन्तरगत सीमान्तकृत र जोखिममा परेका समूदायको पहुँच बारे मकवानपुर जिल्लाको राक्सिराङ गाउँपालिकाको ५० घरमा अनुसन्धान गरेका थियो ।
नमुना परिक्षणको रूपमा नेपालको ३ जिल्ला मुस्ताङको छैरो, मकवानपुर राक्सिराङ र कैलालीको गोदावरीमा खोपमा स्थानीयको पहुँचबारे अध्ययन गरिएको थियो ।
नेपालमा ९१ दशमलव ७ प्रतिशतले कोभिड विरुद्धको खोप लगाएको भए पनि मकवानपुर जिल्लाको राक्सिराङ गाउँपालिकामा भने खोपको पहुँच उल्लेख्य नभएको अनुसन्धानले बताएको छ ।
स्वास्थ सेवाको पहुँचमा असमानता, कमजोर स्वास्थ्य प्रणाली रहेको अनुसन्धानमा सहभागीहरुले बताए । २०२६ पछि यस्तै प्रकारको प्रकोप आएमा खोप अनुदान नपाइने र किन्न पर्ने अवस्थामा खरिद गर्न नसक्दा ज्यान जानसक्ने संभावना रहेको गैसस महासंघ केन्द्रय सचिव बुद्धशरण लामाले बताए ।
औषधि खरिदमा पनि माफियाकरण रहेको कारण बिरामीको परिवारलाई बोझ थपिने गरेको उनले बताए । गैसस महासंघ बागमती प्रदेश अध्यक्ष आरती पाठकको अध्यक्षतामा भएको कार्यक्रममा इन्सेक बागमती प्रदेश, माइती नेपाल, हिमराइट्स, साना हातहरु, इटीएसइ लगायत जिल्लाका क्रियाशिल संस्थाहरुको प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

