मकवानपुर । इजाजतपत्र लिएर बैधानिक रूपमा घरमा हातहतियार राख्दै आएका सर्वसाधारणहरूलाई प्रशासनसमक्ष हातहतियार बुझाउन जिल्ला प्रशासन कार्यालय मकवानपुरे आग्रह गरिएको छ ।

प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन, २०७९ लाई स्वच्छ, निष्पक्ष र सुरक्षित वातावरणमा सम्पन्न गर्न जिल्लाभित्र रहेका इजाजतपत्र प्राप्त हातहतियारहरू कार्तिक ५ गतेभित्र बुझाउन प्रशासनले सूचना जारी गरेको हो ।
प्रशासनले यस्ता हतियार नजिकको प्रहरी इकाईमा लगत राख्ने गरी बुझाउन हतियार धनीलाई अनुरोध गरेको छ । असोज १३ गृह मन्त्रालयको सचिवस्तरको निर्णय अनुसार प्रशासनले इजाजतपत्र प्राप्त हातहतियारहरू निर्वाचन सम्पन्न भएको एक हप्ता पश्चात् लगत कट्टा गरी फिर्ता हुनेगरी कार्तिक ५ गतेभित्र बुझाउन भनेको हो ।
स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा पनि जिल्ला प्रशासन कार्यालय मकवानपुरले ११ चैतमा हतियार बुझाउन आग्रह गरेको थियो । तर सबैले हतियार नबुझाएको पाइएको छ । गत स्थानीय तहको चुनावमा सरकारले निर्वाचन केन्द्रीत सुरक्षा व्यवस्था अन्तर्गत देशभर नै इजाजत प्राप्त हतियार बुझाउन आग्रह गरे अनुसार मकवानपुरमा पनि प्रशासनमार्फत हातहतियार बुझाउन आव्हान गरेकोमा ८ प्रतिशतले मात्रै हतियार बुझाएका थिए ।
प्रशासनका अनुसार जिल्लाभित्र इजाजत लिएका ४९ हातहतियारमध्ये ४ जनाले मात्र बुझाएका थिए ।
निर्वाचनलाई भरभर्दो एवं विश्वसनीय बनाउन जिल्ला भित्र रहेका इजाजत प्राप्त हातहतियारहरु तोकिएको मितिमा बुझाउन सूचना जारी गरिएको हो । सूचनाको बर्खिलाप भए कानून बमोजिम कारवाही हुनसक्ने प्रशासनले जनाएको छ ।

