मकवानपुर । जिल्ला समन्वय समिती मकवानपुर सभापति ललित घलानले महिला हिंसाको विरुद्ध मकवानपुर महिला समूहले गरेको काम धेरै प्रभावकारी रहेको बताउँदै महिला सशक्तीकरणको लागि आफ्नो साथ रहने बताएका छन् ।
एच आई भि संक्रमित प्रभावितहरूलाई आफैंसंग समेत संघर्ष गर्नुपर्ने अवस्था अझै रहेकोले जिल्ला समन्वय समितिको सहकार्य गर्ने उनले बताए । “एच आई भि पोजेटिभ वा संक्रमित प्रभावित हुने अवस्था आउनै नदिन महिलालाई स्वरोजगार, व्यवसायीक तथा आत्मनिर्भर बनाउन हामी सहकारीको लागि तयार छौ” उनले भने ।
मकवानपुर महिला समूहको १९ औं साधारण सभामा घलानले यस्तो बताएका हुन । पढेलेखेको नभए पनि कृषिबाट पनि जीवन व्यवस्थित हुने भएकोले यसतर्फ पनि योजना बनाउन घलानले आग्रह गरे ।
कार्यक्रममा हेटौंडा उपमहानगरपालिका सामाजिक विकास महाशाखाका प्रबन्धक भिमप्रसाद तिमल्सिनाले गैससहरुले सामाजिक रुपान्तरणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताए । संक्रमित प्रभावितहरूको क्षेत्रमा आवश्यक सवालमा नगरपालिकाले सहकार्य गर्दै आएको प्रबन्धक तिमल्सिनाले बताए । एचआईभी एड्सको क्षेत्रहरू उत्थानका लागि काम गर्न नगरपालिकाले साथ रहने उनले बताए ।
“सामाजिक पुन:एकीकरण गर्न आवश्यक छ, समाजको विविधतालाई स्वीकार गर्न,जागरुक र संगठित हुंदै साझेदारी र सहकार्य गर्न सकियोस् समस्यामा रहेकालाई सम्मानपूर्ण रूपमा बांच्न सक्ने बनाउ” तिमल्सिनाले भने ।
कार्यक्रममा समूहको संस्थापक अध्यक्ष राधिका चौलागाईंले संक्रमित प्रभावितहरूसंगै जोखिममा रहेका अन्य महिलालाई पनि आत्मानिर्भर बनाउन संस्थाले जहल गरिरहेको बताइन् ।
अध्यक्ष कमला सुबेदीको अध्यक्षतामा भएको कार्यक्रममा सचिब सावित्रले संस्थागत प्रतिवेदन तथा र कोषाध्यक्ष मन्जु लामाले आर्थिक प्रतिवेदन पेश गरेका थिए । अध्यक्ष सुबेदीले संक्रमित तथा प्रभावितहरू संस्थागत रूपमा खुले पनि बाहिर संसारमा धेरै संघर्ष गर्नुपर्ने अवस्था अझै रहेको बताइन् ।
“श्रीमानलाई संक्रमण हुंदा समेत श्रीमतीलाई थाहा नहुने अवस्था अझै छ, सामाजिक भेदभाव अझै जारी छ” सुबेदीले भनिन् । पछिल्लो समय एच आई भि संक्रमित हुनु सामान्य हो भनेर सरकारले समेत वास्ता गर्न छाडेको सुबेदीले गुनासो गरिन ।

