मकवानपुर । मकवानपुरको हेटौडा उपमहानगरपालिका–४ मा रहेको राष्ट्रिय सूचना प्रविधि केन्द्रमा (डिजास्टर रिकभरी सेन्टर) लागेकाे आगाे नियन्त्रणमा आएकाे छ । नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतकाे राष्ट्रिय सुचना प्रविधि केन्द्र (डिजास्टर रिकभरी सेन्टर) मा भएको आगलागी करिब डेढ घण्टाको प्रयास पछि नियन्त्रणमा लिइएको हाे ।
सेन्टरको व्याकअप व्याट्रीमा करेन्ट सर्ट हुदाँ आगोलागी भएको अनुमान गरिएको छ । हेटौंडा उपमहानगरपालिकाको दमकल, र सुरक्षाकर्मीको उपस्थितिमा आगो नियन्त्रणमा लिइएको थियो । उक्त कोठाभित्र ४ सय ८० वटा व्यकअप ब्याट्री रहेको बताइएको छ । घटनापछिको विस्तृत क्षति विवरण आउन बाँकी रहेको छ ।
यो केन्द्र सिंहदरबारको तथ्याङ्कीय ब्यकअप हो । काठमाडौंको सिंहदरबारमा रहेको तथ्याङ्कीय ब्याकअप डाटासेन्टर मकवानपुरको हेटौंडामा ३ वर्ष अघि स्थापना गरिएको हो । कोरियाली सरकारको सहयोगमा ३७ करोडको लगानीमा तय भएको डाटा सेन्टर ३१ जेठ २०७७ मा नेपाल सरकारका सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले उद्घाटन गरेका थिए ।
सरकारी तथा निजी क्षेत्रका महत्वपूर्ण सूचनाको सुरक्षा र तिनीहरूको व्यावसायिक विवरणमा सेन्टरले सहयोग गर्ने गरी यसको स्थापना गरिएको हो । सिंहदरबारको डाटा सेन्टरको डाटा कुनै प्रकोपको कारण नष्ट भएमा त्यसको ब्याकअपको रुपमा सुरक्षित गर्न यो डाटा सन्टेर निर्माण गरिएको हो । हेटौंडाको हुप्रचौरस्थित नगर विकास समितिको १० कठ्ठा जग्गामा डाटा सेन्टर निर्माण भएको छ ।
डाटा सेन्टरमा राष्ट्रिय परिचयपत्र, मेसिन रिडेबल पासपोर्ट, ईप्रोक्युरमेन्ट, विद्युतीय हस्ताक्षर, ईकस्टमलगायतका सरकारी डाटाहरु सुरक्षित रहने बताइएकाे छ । सिंहदरबारको डाटा सेन्टर पनि कोरियाकै सहयोगमा निर्माण गरिएको हो ।

