मकवानपुर । बस्ति बढेसंगै तटीय क्षेत्रमा बढेको प्रदूषणको कारण चुनौती बढेको छ । सरोकारवालाहरूले तटीय क्षेत्रको संरक्षणसंगै जलाधार शुद्धताको लागि चासो प्रकट गरेका छन् ।
यसै सवालमा सहमतिको आयोजना र डब्लुडब्लुएफको सहयोगमा हेटौंडामा सरोकारवालासँग कार्यशाला गरिएको छ । सिमसार क्षेत्र संरक्षणको काम स्थानीयवासीसंगै स्थानीय सरकारले पनि ध्यान दिनुपर्ने सहभागीहरूले बताए ।
कार्यक्रममा जिल्ला समन्वय समिती मकवानपुर सभापति ललित घलानले मानव वस्ति बढेसंगै बढेको नदिको फोहोरलाई नियन्त्रणमा ध्यान दिनु पर्ने बताए । ” नदिको पानी अन्जुलीमा उठाएर पिउन योग्य बनाउन लागौ, मानव बस्ती बसाउँदा, जलाधारको अतिक्रमण नहोस्” उनले भने ।
सहमतिको बोर्ड सदस्य दयासागर सुबेदीको अध्यक्षता भएको कार्यक्रममा हेटौंडा खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक सुदर्शन प्रसाद ढकालले पानीको मुहानमै शुद्धिकरण आवश्यक भएको बताए । खानेपानी फोहोर हुंदा समस्या बढेको उनले बताए ।

औद्योगिक क्षेत्रबाट निस्कने पानी प्रशोधन गरेर मात्रै नदिमा मिसाउनु पर्ने सवाल कार्यक्रम उठाईएको थियो । कार्यक्रममा सहभागी मकवानपुर जिल्लाका विभिन्न गाउँपालिकाका प्रतिनिधिहरूले कृषि कर्म गर्दा जलाधार संरक्षणमा ध्यान दिने प्रतिबद्धता जनाएका थिए।
सहमति संस्थाले राप्ती र नारायणी नदिको जलाधार संरक्षणको लागि मकवानपुर, चितवन र नवलपुरमा यस्ता सवालबारे कार्यशाला गरेको संस्थाले जनाएको छ ।

