मकवानपुर । प्रदेशको राजधानी हेटौंडामा फोहोर व्यवस्थापन जटिल बन्दै आएको छ । २०७१ सालमा देशको सबैभन्दा सफा शहरको रुपमा पुरस्कृत भएर ५ लाख रुपियाँ पुरस्कार पाएको हेटौंडा शहर विस्तारै फोहोर बन्दै आएको छ ।
हाल हेटौंडाको फोहोर संकलन गरेर जम्मा गर्दै आइएको फोहोर व्यवस्थापनको विकल्प नखोजिने हो भने अबको ४/५ वर्षमा हेटौंडाको फोहोर व्यवस्थापन नगरकै समस्याको रुपमा आउने निश्चित भएको छ । काठमाडौंको फोहोर व्यवस्थापनको चुनौती दिनदिनै बढ्दै आएको बेला हेटौंडाको फोहोर व्यवस्थापन गरिदै आएको डम्पिङ्क साइड पनि भरिंदो छ ।
हेटौंडा १० सिसौघारीमा हाल संकलन गर्दै आइएको फोहोर दिनहुँ एस्काभेटर लगाएर खाँदै आइएको छ,तर यसको विकल्प भने खोजिएको छैन । डम्पिङ् साइडको नजिकै बसोबास गर्दै आएका स्थानीयहरु फोहोरको गन्धको कारण आजित छन् । नगरपालिकाले गन्ध फैलन नदिन समेत कुनै चासो नदिएको उनीहरु बताउँछन् ।
तत्कालीन हेटौंडा नगरपालिका र हालको हेटौंडा उपमहानगरपालिकाको फोहोरको परिमाण समेत दोब्बर छ, तर सफाई कर्मचारीको संङख्या आधाभन्दा कम छ । यसले गर्दा पनि हेटौंडा बजारमै समेत फोहोर संकलनमा चुनौती सुरु भएको छ । संकलन भएको फोहोर व्यवस्थापनमा समेत समस्या भएको हेटौंडा उपमहानगरपालिका वातावरण महाशाखाका सफाइ निरीक्षक दिपेन्द्र राज शर्माले बताए ।
हाल हेटौंडा १० को झण्डै २० विगाहा जग्गामा फोहोर थुपार्दै आइएको छ । नगरपालिकाले फोहोरलाई उत्पादनमै वर्गिकरण गर्ने र त्यसै अनुरुप व्यवस्थापन गर्ने गरी ७ वर्ष अघि बनाएको योजना योजनामै थन्किएको छ । अहिले पनि बजारमा प्रयाप्त डस्टबिनहरु पनि छैनन्, र घरैमा समेत फोहोर वर्गिकरण गरेर संकलन गर्ने काम भएको छैन ।

नगरपालिकाले कुहिने, नकुहिने र अस्पतालबाट निस्कने सुइ जस्ता फोहोरको स्रोतमै वर्गिकरण गरेर छुट्टाछुट्टै संकलन गर्ने नीति लिएको थियो । ७ वर्ष अघि यो अभियान सुरु गरेको भन्दै डस्टबिन समेत वितरण गरिएको थियो तर हाल कतै पनि यस्ता डस्टविन छैनन् ।
फोहोर व्यवस्थापनको लागि वैकल्पिक डम्पिङ साइडको खोजि र बजारको फोहोर संकलनबारे नीतिगत रुपमा तयारी हुँदै गरेको हेटौंडा उपमहानगरपालिका मेयर मिना कुमारी लामा बताउँछिन् । “बजारको फोहोर संकलन तथा व्यवस्थापनलाई व्यवस्थित बनाउन नगरपालिकाले हामीले योजना बनाउने तयारी थालेका छौ” उनले भनिन् “यति समयभित्र वा यहीँ बनाउने भन्ने छैन, तर हामी गर्छौ ।”

