मकवानपुर । यस बर्षको हरितालिका तिज पर्व आजबाट सुरु भएको छ । भाद्र शुक्ल द्वितीया तिथिबाट सुरु भइ शुक्ल पञ्चमीसम्म ४ दिन हिन्दु महिलाहरुले तिज पर्व मनाउने गर्छन ।
तिजको पहिलो दिन आज सोमबार मिठा परिकारका साथमा दर खाइ मनाइदैछ । दर खाने दिन चेलीबेटीहरु जन्मघरमा जम्मा भइ रमाइलो गर्ने गर्छन । भोलिपल्ट हरितालिका तीजको ब्रत भएकोले आज बेलुका दर खाने चलन छ ।
नजिक तथा टाढा रहेका चेलबेटी जन्म घरमा भेला भएर खिर, गुँद, हलुवा, ढकनी, घिउ, दही दूध मिठाई, फलफूललगायतका मिठा परिकारको दर खाने चलन छ । भोलिपल्ट निराहार व्रत बस्ने भएकाले भोलिपल्टको आडका लागि अघिल्लो दिन साँझ अथवा बेलुकी शरीरलाई तागत दिने खालका परिकार बनाएर दर खाने चलन रहेको जानकारहरु बताउछन ।
हरितालिका पर्वमा निराहार व्रत बस्नुपर्ने भएकाले ब्रतको अघिल्लो दिन ब्रतको दिनभर शरीरमा शक्ति सञ्चय गर्ने खालका खाद्यवस्तु सेवन गर्ने गरिएको हेटौंडाकी ६५ वर्षीय भावाना तिमल्सिनाले बताईन । हरितालिका तीजमा पानी पनि नखाई व्रत बस्ने गरिन्छ । त्यस दिन महिलाले नाचगान पनि गर्छन् । त्यसैले, शक्ति आवश्यक हुने भएकाले गुलिया र शरीरमा फुर्ति दिने खालका वस्तु सेवन गरिन्छ । कतै कतै साँझमा अन्य चिज नखाई दर खाने प्रचलन छ भने कति ठाउँमा पहिले खाना खाएर मध्यरातमा दर खाने गरिन्छ । दर पकाउन महिलालाई श्रीमान, दाजुभाइ, छोराले पनि सहयोग गर्ने र रातको समयमा नाचगान गर्दै रमाइलो गर्ने परम्परा पनि यथावतै छ ।
हिन्दु महिला दिदीबहिनीले निराहार व्रत बसी हरितालिका तीज भने मंगलबार मनाउँदै छन् । पछिल्लो समयमा व्रत बस्ने तरिकामा भने परिमार्जन हुँदै आएको छ । दरको नाममा कतिले माछा–मासु तथा मादक पदार्थ सेवन गरेकोे पाइन्छ । ती परिकारमा उच्च क्यालोरीयुक्त भएको यस्ता खानेकुरा चाँडै भोक लाग्न नदिने र शक्तिवर्धक हुन्छन् ।
तीजका दिन बिहानै नुहाइधुवाइ गरी भगवान शिवको आरधना गर्दै महिला नाचगान र रमाइलो गर्नमा व्यस्त हुने गर्छन् । पौराणिक कालमा हिमालय पर्वतकी पुत्री पार्वतीले भगवान् शिवलाई पतिका रूपमा पाउन बसेको व्रतसँग यो हरितालिका तीज जोडिएको पाइन्छ । तीजका दिन विवाह भएका महिलाले मात्र नभई अविवाहिता महिलाले सुयोग्य वर प्राप्त होस् भन्ने कामनाका साथ व्रत बस्ने गर्छन् । कति भने मनमा शान्तिका लागि व्रत बस्ने गरेका छन् । धार्मिक दृष्टिकोणले राम्रो मानिएको उपवास स्वास्थका लागि पनि उत्तिकै राम्रो हुन्छ । व्रतले शरीरमा भएको विकार हटेर जान्छन् । यसले शरीरका नराम्रो कोलेस्ट्रोल हट्नुका साथै यसले तौल नियन्त्रणमा पनि सहयोग गर्दछ ।
तिजमा खाइने खाद्यवस्तुले स्वास्थ्य बिग्रन सक्ने तर्फ समेत सजेत हुन जरुरी छ । अहिले तिज सुरु हुनु महिनौ अघि दर खाने चलन सुरु भएको छ । टोल छिमेक संघ सस्था लगायतको तीज मनाउने कार्यक्रमले होटेल पार्टी प्यालेस भरिभराउ हुने गरेको छ । यसरी तीज मनाउदा आफ्नो सस्कृतिलाई समेत जगेर्ना गर्ने गरि मनाउन सस्कृतिविद हरु सुझाव दिन्छन ।
दर खाने निहुँमा आफ्नो स्वास्थ्य बिग्रने खालका खाद्यवस्तु नखान चिकित्सकले सुझाव दिएका छन् । दरका रूपमा विभिन्न अखाद्य वस्तु, रंग हालेका मिठाई, विषादी हालेका तरकारी र फलफूल खानाले स्वास्थ्यमा नराम्रो असर गर्न सक्छ ।
In: धर्म/ संस्कृति, मुख्य खबर, राष्ट्रिय
Tags: No Comments

