मकवानपुर । मुस्लिम धर्मावलम्बीको पर्व बकर ईद (इदुल जोहा) आज आइतबार मनाइदै छ । मुस्लिमहरुको दोस्रो महान् पर्व बागमती प्रदेशको राजधानी हेटौंडसहित देसैभर मनाईदै छ । बकर ईदको अवसरमा सरकारले आज सार्वजनिक बिदा समेत दिएको छ ।
इदुल फित्र अर्थात् रमजान पर्वको करिब ७० दिनपछि आउने बकर ईद पर्वलाई मुस्लिम समुदायले हर्सोल्लासका साथ मनाउने गर्छन्। मुस्लिम धर्मावलम्बीले तीन दिन मनाउने बकर ईदको पहिलो दिन आज बिहान स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्ने गर्छन् । त्यसपछि एकापसमा शुभकामना आदान प्रदान गर्छन् ।
मकवानपुरमा पनि मुस्लिम समुदायले बकर ईद मनाउदै छन । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर -४ भैरवरोडमा रहेको मकवानपुरकै सबैभन्दा पुरानो ठूलो मस्जिद जामे मस्जिदमा बकर ईद मनाउन आईतबार बिहान मुस्लिम धर्मावलम्बीको भीड लागेको छ । मकवानपुरमा स्थानीय र बाहिरी जिल्लाबाट आएर बसोबास गरेकासहित करिब १० हजारको संख्यामा मुस्लिम धर्मावलम्बीहरु रहेको बताइएको छ ।
बकर इदमा त्यागका लागि पशुबली दिने प्रचलन छ। पशुबलीको मासु तीन भागमा बाँडी वितरण गर्ने गरिन्छ । एक भाग गरिब एवं विपन्न परिवारलाई, अर्को एक भाग आफ्ना इष्टमित्रलाई र तेस्रो भाग आफैँले खानुपर्ने मुस्लिम धार्मिक मान्यता छ।
धार्मिक मान्यता अनुसार यस दिन अल्लाह मान्छेको निकै नजिक रहने गर्छन्। यो दिन सबैले नजिकको मस्जिद, इदगाह र मजारमा सामूहिक नमाज पढ्ने, शुभकामना अदानप्रदान गर्ने गर्छन् । सामूहिक रूपमा ठूलो जनावरको बली दिने, गरिबलाई बाँड्ने र सामूहिक भोजनको आयोजना गर्ने गर्छन् ।
हिजरी संवत्अनुसार १४३९ वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको मुस्लिम धर्मावलम्बी बताउछन् ।

