मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले वडा अध्यक्ष र वडा सचिवको लागि अभिमुखीकरण गरेको छ । स्थानिय तह निर्वाचनमा निर्वाचित वडा अध्यक्ष र सचिबको लागि दुई दिने अभिमुखीकरण गरेको हो । शुक्रबार र शनिबार दुई दिन भएको अभिमुखीकरणमा स्थानीय तहको सेवा प्रवाह, बिद्यमान कानुन तथा समसामहिक बिषय सहजीकरण गरिएको थियो ।
असार १७ गते सुरु भएको अभिमुखिकरण कार्यक्रमको शनिबार हेटौंडा उपमहानगरका प्रमुख मिनाकुमारी लामाले समापन गरेकी थिइन् । समापनमा नगर प्रमुख लामाले अभिमुखीकरणले भोलीका दिनमा काम गर्न सहज हुने बिस्वास व्यक्त गरिन् । दुई दिनको बसाईले आगामि दिनमा कामको शिलसिलामा हुन सक्ने कानुनी समस्या सहितको बारे जानकारी लिएपछि जनतालाई सेवा सुबिधा दिने काममा बिलम्ब नगर्न वडा अध्यक्ष र सचिबलाई लामाले आग्रह गरिन् ।
अभिमुखीकरणमा बिकासका अवधारणा र योजना तर्जुमा प्रकृया, न्यायिक समितिको कानुनी व्यवस्था काम कर्तव्य र अधिकार, वडाहरुबाट हुने बिभिन्न सिफारिस, नागरिकता सिफारिस, स्थानीय बजार अनुगमन, बिपद् व्यवस्थापन, सेवा प्रवाहमा स्थानीय तहको भूमिका बिषयमा सहजीकरण गरिएको हेटौंडा उपमहानगरपालिका प्रशासन महाशाखा प्रमुख रामकृष्ण थापाले जानकारी दिए ।
कार्यक्रममा १९ वटै वडाका अध्यक्ष र सचिवहरुले सेवाग्राहीहरुलाई दिने सेवा, सुविधा गुणस्तरीय, छिटोछरितो तथा प्रभावकारी बनाउने बारे अभिमुखिकरण गराइएको थियो । वडाहरुबाट आउने सिफारिसको व्यहोरा अपुरो हुँने भएकाले सेवाग्राही काम नगरी फर्केर जानुपर्ने अवस्था रहेको, तीन तहका सरकारले नागरिकलाई कसरी सहज रुपमा सेवा सुविधा दिन सकिने बारे जानकारी गराइएको थियो ।
कार्यक्रममा मकवानपुरका निमित्त प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रे, जिल्ला समन्वय अधिकारी आनन्दराज पोखरेल, हेटौंडा उपमहानगरका प्रमुख प्रशासकिय अधिकृत शिबराज चौलागाई, कानुनी सल्लाहकार मुकुन्द अधिकारीले सहजिकरण गरेका थिए ।

