मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा पहिलो पटक आज र भोलि प्रदेश स्तरीय महिला उद्यमी सम्मेलन तथा उपज प्रदर्शनी (मेला) हुने भएको छ ।
मेलाको आज मुख्यमन्त्री राजेन्द्र पाण्डेले उद्घाटन गर्ने छन् । बागमती प्रदेश सरकार उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयको आयोजना तथा नेपाल घरेलु तथा साना उद्योग महासंघ बागमती प्रदेश समिति तथा प्रदेश महिला उद्यमी समितिको समन्वयमा मेला आयोजना गर्न लागिएको हो ।
हेटौंडाको रोयल पार्टी प्यालेसमा महिलाले उत्पादन गरेको सबै प्रकारको उपजहरुलाई प्रदर्शनीमा राखिने नेपाल घरेलु तथा साना उद्योग महासंघ बागमती प्रदेश समिति कार्यवाहक अध्यक्ष तथा प्रदर्शनी कार्यक्रमका संयोजक तारानाथ चौलागाईले बताए ।
चौलागाईका अनुसार प्रदर्शनीमा कम्तिमा ५० वटा स्टलहरुमा महिलाले उत्पादन गरेको उपजहरु राखिने छ । सम्मेलनमा सहभागीका रुपमा प्रदेशको १३ वटै जिल्लाबाट ७८ जना महिला उद्यामी प्रतिनिधिहरु, ३२ जना प्रदेश समिति तथा स्थानीय महिला उद्यमीहरु र २० जना आमन्त्रित महिला उद्यमीहरु रहने नेपाल घरेलु तथा साना उद्योग महासंघ बागमती प्रदेशका कार्यकारी निर्देशक शम्भुप्रसाद नेपालले बताए ।
मेलामा १३ जिल्लाका ३९ जना उद्यमीहरु उपज प्रदर्शनीमा सहभागी हुनेछन् । उनीहरुलाई उपज प्रदर्शनीको लागि निशुल्क स्टल उपलब्ध गराइने छ भने बस्ने र खाने व्यवस्था समेत आयोजकले नै व्यहोर्ने छ ।

