मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले नव निर्वाचित जनप्रतिनिधिलाई जनताको दुख बुझेर काम गर्न निर्देशन दिएका छन् ।
स्थानीय तहको आवश्यकता अनुसार बनेका कानुन आँफैले कति कार्यान्वयन गरियो भनेर समिक्षा गर्न उनले आग्रह गरे । “पुरानाले के गर्नु भयो, अब तपाईंहरूले कानुन बनाउनु अघि घनिभुत छलफल गर्नुस् अनि बनेको कानुन अक्षरस कार्यान्वयन गर्नुस्” उनले भने । कानुन नबनाई शासन गर्छु भन्नु छाडा हुनु भएको उल्लेख्य गर्दै मुख्यमन्त्री पाण्डेले भने “कानुन बनाउनुस र पुरापुर कार्यान्वयन गर्नुस् ।”
“संघ सुन्ने सरकार हो, प्रदेश नजिक छ भन्ने सरकार हो, स्थानीय सरकार जनताले काखमा टाउको राखेर रूने सरकार हो, जनमुखी हुनुपर्छ । चुनावमा जे पनि गर्छु भन्ने,अनि ब्याक हुने काम नगर्नुहोस्” उनले भने “केन्द्रले नदेखेको कुरा तपाईंले देख्नु पर्छ ।”
बागमती प्रदेशका १ सय १९ वटै स्थानीय तहमा निर्वाचित प्रमुख र उपप्रमुखका लागि आयोजना गरिएको अभिमुखीकरण कार्यक्रममा उनले यस्तो बताएका हुन । भौतिक पुर्वाधारको विकासमा मात्रै ध्यान केन्द्रित नगरि सामाजिक विकासमा पनि लागिपर्न उनले आग्रह गरे । “मानवीय विकास भयो कि भएन, व्यवस्था बदलियो कि छैन त्यो हेर्नुस्” उनले भने ” हिजो बनेको कानुन जनताको पक्षमा छ भने जसले बनाको भएपनि कार्यान्वयन गर्नुस् ।”
संविधानको मर्म अनुसार काम गर्न उनले आग्रह गरे । “डोजरे विकासबाट बाहिर आएर एकल महिला, लोपोन्मुख, सीमान्तकृत जातिको लागि के गर्नु भयो, के गर्दै हुनुहुन्छ ध्यान दिनुस्, अब आउने बजेट मै यो कुरा ध्यान दिनुस् । बागमती प्रदेश स्थानीय सरकारसंगसंगै हिड्न चाहन्छ ” उनले भने ।
प्रदेशको ११२१ वडामा प्रदेश सरकारले वडा समाजवादी कार्यक्रम ल्याउँन लागेको बताउँदै मुख्यमन्त्री पाण्डेले जातीय, धार्मिक विभेदको अन्त्य गर्ने नीति तथा कार्यक्रम र बजेट ल्याउन आग्रह गरे ।
शहरको फोहोरको बैज्ञानिक व्यवस्थापन गर्नमा दीर्घकालीन कार्यक्रम बनाउन उनले आग्रह गरे । जनचेतनाको सवालमा पनि चासो र चिन्तन राख्न उनले आग्रह गरे ।

