मकवानपुर । नवनिर्वाचित जनप्रतिनिधिलाई पारदर्शी हुन बागमती प्रदेशको प्रदेश सचिब सुरेश अधिकारीले आग्रह गरेका छन् ।
बागमती प्रदेश सचिब अधिकारीले सुशासन, पारदर्शिता,आर्थिक विकास, खरिद प्रणाली, वातावरणीय सवालको बारेमा जानकारी गराइने उद्देश्यले आयोजित अभिमुखिकरण कार्यक्रममा निर्वाचित जनप्रतिनिधिले भ्रष्टाचारको अन्त्यको लागि लड्नुपर्ने र यसमा चनाखो हुन उनले आग्रह गरेका हुन् ।
जनप्रतिनिधिलाई आफ्नो क्षेत्रमा काम गर्दा आईपर्ने अफ्ठ्याराहरूमा सघाउन यो कार्यक्रम फलदायी हुने अधिकारले बताए ।
राजनीतिलगायत बिबिध अन्तरसम्बन्धलाई परिभाषित गर्दै सक्षमता अभिबृद्वि गर्दै काम गर्नु पर्ने उनले बताए । स्थानीय तहमा हस्तान्तरण हुनुपर्ने तर हालसम्म संघको कब्जामा रहेको अधिकार बारे पनि कार्यक्रम छलफल हुने उनले बताए ।
बागमती प्रदेशका १ सय १९ वटै स्थानीय तहमा निर्वाचित प्रमुख र उपप्रमुखका लागि आयोजना गरिएको अभिमुखीकरण कार्यक्रममा प्रदेश राजधानी हेटौंडामा सुरू भएको छ । कार्यक्रम बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले उद्घाटन गरेका छन् ।
कार्यक्रममाराष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले स्थानीय शासन संघीयता अन्तर तह समन्वय बजेट तर्जुमा र असल अभ्यास बारे कार्यपत्र प्रस्तुत गरेका छन् । योजना तर्जुमा, कर राजस्व संकलन तथा बांडफाड, क्षमता विकास र अवसरहरू बांडफांड, संगठन संरचना निर्माण, केन्द्रिकृत सोच र मानसिकताका कारण संबिधानले तोकेजस्तो र अपेक्षा गरेजस्तो उपलब्धि हासिल गर्न चुनौती भएको राष्ट्रिय सभा सदस्य देवकोटाले बताए ।
कार्यक्रममा जनप्रतिनिधिहरूलाई समन्वय सहकार्य बलियो बनाउन, स्थानीय तहको बार्षिक नीति योजनाको लागि सहकार्य गर्न, स्थानीय तहबिचको समस्या चुनौती तथा अवसरलाई छलफल गरिने बागमती प्रदेश मुख्य मन्त्री तथा मन्त्री परिषद् कार्यालय सचिब स्किम श्रेष्ठले बताइन् ।
कार्यक्रममा प्रदेश नीति तथा योजना आयोगका प्रतिनिधिहरू, मन्त्रालय मन्त्रीहरू, मन्त्रालयका सचिबहरू, मकवानपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीलगायत महानगरपालिका, उपमहानगरपालिका, नगरपालिक र गाउँपालिकाका प्रमुख उपप्रमुखको उपस्थिति रहेको छ । कार्यक्रम भोलिसम्म चल्नेछ ।

