मकवानपुर । हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामाले ‘औद्योगिक क्षेत्रभित्र र बाहिर रहेका रुग्ण उद्योगलाई चलायमान बनाउनु पर्ने’ बताएकी छिन् ।
उद्योग संघ मकवानपुरले स्थानीय तह निर्वाचनमा हेटौंडा उपमहानगरमा निर्वाचित जनप्रतिनिधिलाई गरेकाे स्वागत कार्यक्रममा लामाले हेटौंडा औद्योगिक क्षेत्रभित्र र बाहिर रहेका रुग्ण उद्योगलाई उकास्ने गरी काम गर्न जरुरी रहेको बताएकी हुन् । ‘समुन्नत हेटौंडा निर्माणको लागि सबैसँग सहकार्य गरेरै अघि बढ्नु पर्छ उनले भनिन् –‘ उद्योगहरु थलिँदै गएको अवस्था रहेकाले उद्योग संघसंगको सहकार्यमा त्यस्ता उद्योग र व्यवसायलाई चलायमान बनाउन आवश्यक छ ।’
लामाले भनिन् ‘बागमती प्रदेशको राजधानी एकमात्र उपमहानगरपालिकालाई अव्बल बनाउँदै उपमहानगर मध्ये पहिलो बन्ने अभियानमा उद्योगी व्यवसायीको साथ र सहयोग आवश्यक रहेको छ ।’ कार्यक्रममा सुन्दर उपामहानगर बनाउने अभियान थालिएको जानकारी दिंदै उनले भनिन् ‘कर्रा र कुखरेनी क्षेत्रमा सुन्दर पर्यटकीय गन्तव्य बनाउने अभियान थालिएको छ ।’ अभियानमा प्रदेश सरकारसहितको सहभागिता रहने भन्दै उद्योग व्यवसायीसँग थप सल्लाह गरेर अघि बढ्ने बताइन् ।
यसैगरी हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँले उद्योगी व्यवसायीको समस्यामा उपमहानगर हातेमालाे गर्न तयार रहेकाे बताए । सबै समस्यालाई चिर्दै उपमहानगरभित्र रहेको उद्योगमा औद्योगिक वाताबरण बनाउँन उपमहानगरले सधै सहकार्य गर्ने बानियाँले बताए । उनले स्वदेशी उत्पादनलाई प्राथमिकता राख्दै अघि बढ्न उद्योगी व्यवसायीलाई आग्रह समेत गरे ।
कार्यक्रममा उद्योग संघका अध्यक्ष स्वागतराज प्याकुरेलले नवनिर्वाचित सबैलाई स्वागत गर्दै स्थानीय तह सुदृढ र सबल भए बिकासको अनुभव हुने बताए । उनले औधोगिक वातावरण निर्माणका लागि उपमहानगरको भुमिका आवश्यक रहेको बताउँदै औद्योगिक क्षेत्रको फोहर व्यवस्थापनमा ध्यान दिन आग्रह गरे । अहिले औद्योगिक क्षेत्रमा फोहर व्यवस्थापन स्थल नभएको र प्रशोधनका लागि उपयुक्त उपकरण नभएका कारण समस्या भएको औल्याए । उनले स्थानिय उत्पादनमा जोद दिन आग्रह गर्दै औद्योगिक क्षेत्रमा कामदारको रुपमा महिलाहरुको अभाब रहेको बताए । उनले महिला कामदारको उपस्थिती बलियो बनाउँने काममा उपमहानगरको भूमिका आवश्यक रहेको बताए ।
संघका अध्यक्ष प्याकुरेलको अध्यक्षतामा भएको कार्यक्रममा संघका निवर्तमान अध्यक्ष लेखराज पोखरेल, पुर्व अध्यक्षद्धय माधव अधिकारी, ऋषिराम घिमिरे र हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका अधिकृत दिपक आचार्य सहित उपमहानगरमा बिजयी भएका १९ वडाका अध्यक्षहरुको आतिथ्यता रहेको थियो ।

