मकवानपुर । चर्च ब्वाइज क्लब काठमाडाैं जारी सहिद स्मृति स्थानीय तह फुटबल प्रतियोगिता–२०७९ को दोस्रो चरणमा प्रवेश गरेको छ । हेटौंडा–५ स्थित पिप्लेक्याम्पा रंगशालामा जारी प्रतियोगितामा भरतपुर एफसीलाई ३–० गोलअन्तरले पराजित गर्दै चर्च ब्वाइज विजयी भएको हो ।
भरतपुरमाथि सहज जीत दर्ता गराउने क्रममा चर्च ब्वाइजका लागि आशिष चौधरीले २ र हेमन्त थापा मगरले १ गोल गरेका थिए । खेलमा दुई गोल गरेको आशिष म्यान अफ दी म्याच घोषित भएका थिए । उनले नगद १० हजार रुपैयाँ प्राप्त गरे । मकवानपुर जिल्ला फुटबल संघको आयोजना तथा स्थानीय तहको सहयोगमा जारी प्रतियोगिताअन्तर्गत् शनिबार सशस्त्र प्रहरीको (एपीएफ) र फ्रेण्डस क्लब काठमाडौंवीच प्रतिस्पर्धा हुनेछ ।
हिजोको खेलमा बिजयी हुंदै बारा सिमराको नव जनजागृति क्लब क्वाटरफाइनल प्रवेश गरेको छ । ३० गते सम्म जारी रहने प्रतियोगितामा विजेता टोलीले शिल्ड,मेडल र प्रमाणपत्रसहित १५ लाख र उपविजेता टोलिले १० लाख प्राप्त गर्ने छन् । प्रतियोगितामा १२ वटा क्लबले सहभागिता जनाएका छन् । अघिल्लो बर्षको भन्दा यस बर्ष पुरस्कारर राशी बृद्धि गरिएको छ । अघिल्लो बर्ष विजेताले १० र उपविजेताले ५ लाख रुपैयाा प्राप्त गरेका थिए । प्रतियोगिताको लागि करिब १ करोड १७ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको आयोजकले बताएको छ । अघिल्लो संस्करणमा नेपाल आर्मी च्याम्पियन हुँदा घरेलु टिम उपविजेता बनेको थियो ।
प्रतियोगिताको उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, सर्वाधिक गोलकर्ता तथा उत्कृष्ट प्रशिक्षकलाई जनही २५ हजार रुपैयाँ तथा प्रत्येक खेलको म्यान अफ द म्याचलाई नगद १० हजार रुपैयाासहित ट्रफी प्रदान गरिनेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडलाई बुलेट मोटरसाइकल प्रदान गरिने प्रतियोगिता संयोजक प्रताप विष्टले जानकारी दिए ।
अघिल्लो बर्षझैं यस बर्ष पनि सर्वोत्कृष्ट खेलाडीका लागि हेटौंडाको हेटौंडा स्कुल अफ म्यानेजमेण्ट एण्ड सोसियल साईन्सेज कलेजका संयोजक पुरणबहादुर जोशीले बुलेट मोटरसाइकल उपलब्ध गराउने भएका हुन् । प्रतियोगितामा एक करोड १७ लाख ९२ हजार रुपैयाँ कुल लागत लाग्ने अनुमान गरिएको आयोजकले बताएको छ ।

