मकवानपुर ।हेटौंडा उपमहानगरपालिकाको मेयरमा निर्वाचित मिनाकुमारी लामाले पद तथा गोपनीयताको सपथ ग्रहण गरेकी छिन् ।
मकवानपुर जिल्लाका मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायधिश डिल्लिरत्न श्रेष्ठले नगरप्रमुखमा निर्वाचित लामालाई पद तथा गोपनीयताको सपथ गराएका हुन् । आफूले पद तथा गोपनीयताको सपथ ग्रहण गरे लगतै लामाले उपमेयर राजेश बानियाँ, १९ वटा वडाका अध्यक्षहरु र १९ वटै वडाका सबै वडासदस्यहरुलाई पद तथा गोपनीयताको सपथ गराएकी छिन् ।

आफूले मुलुक र जनताको हितको लागि काम गर्ने प्रण पहिले पनि गरेको र अहिले सपथ लिएपछि झनै जिम्मेवारी आभाष भएको लामाले बताइन् । सपथ ग्रहणपछि छोटो मन्तव्यमा दिंदै नगरप्रमुख लामाले बिजयी गराउनको लागि भूमिका खेल्ने मतदाताहरुको मन नदुख्ने गरी कानुन बमोजिम काम गर्ने बताइन् । उपमेयर, वडा अध्यक्षहरु र सदस्यहरुलाई पनि यसै अनुरुप काम गर्न उनले निर्देशन दिइन् ।

पद तथा गोपनीयताको सपथ लिएसँगै सबै जनप्रतिनिधिहरुले आजैबाट आफ्नो जिम्मेवारी बहन गर्ने छन् । नगरप्रमुख भएपछि लामाले पहिले पटक नीतिगत निर्णय सदर गर्दै कार्यभारको सुरुवाती गर्ने कार्यक्रम रहेको छ ।

आजै सबै जनप्रतिनिधिहरुलाई विजयी प्रमाणपत्र पनि वितरण गरिएको छ । कार्यक्रममा निवर्तमान नगरप्रमुख हरिबहादुर महतले विजयी जनप्रतिनिधिहरुलाई अबको ५ वर्ष निष्ठा पूर्वक काम गर्न प्रेरणा मिलोस भन्दै शुभकामना दिए ।
कार्यक्रममा बागमती प्रदेश सामाजिक विकास मन्त्री कुमारी मोक्तान, जिल्ला पार्टी प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

