मकवानपुर । निर्वाचनमा हारजित सुनिश्चित सवाल हो । तर हार्छु भनेर कोहि मैदानमा आउंदैन । जो मैदानमा आउंछ,जित्ने आधार देखेरै आउँछ र जित्नकै लागि जोड बल गर्छ, र पनि हार जितको संभावना आधा आधा नै हुन्छ ।
यसो त हार व्यहोर्नु भनेको यात्रा नै सकिनु र जित हासिल गर्नु भनेको सर्वश्रेष्ठ नै हुनु पनि हैन । प्रतिस्पर्धामा आउने व्यक्ति कोहि पनि कमजोर हुंदैन भन्ने हेटौंडा ५ का शुसिल घिमिरेले आफूले विजयी भएपछि निकतम प्रतिस्पर्धीलाई कांधैमा बोकेर सम्मान र आदर जनाए ।
एउटा अन्तर्राष्ट्रिय स्तरको बक्सिङ खेलाडी शुसिल घिमिरे, आफ्नो वडा र वडा भित्रको टोल टोलको विकास गर्ने सपना सजाएर स्थानीय तह सदस्य निर्वाचन २०७९ को मैदानमा आए । नेकपा एमालेबाट घिमिरे वडा अध्यक्षको उम्मेदवार बने । परिस्थिति यस्तो आयो कि उनले प्रतिस्पर्धा गर्नु पर्ने व्यक्तिको रूपमा गठबन्धनले उनैको स्कुले गुरू हयगृव आचार्यलाई उभ्यायो ।
चुनावी मैदानमा उत्रिए गुरू-शिष्य शुसिल र हयगृव । “आफ्नो चुनावी तयारी गर्दै गर्दा पटक पटक गुरूलाई भेट्थे, हामीबिच सधैं हार्दिकता नै भयो” शुसिलले भने “मैले गुरूलाई सम्मान गर्थे, उहाँको माया पनि सधैं पाएँ ।”
निर्वाचन भयो, अन्तिम नतिजा आयो । शिष्य सुशील घिमिरेले २५३० मत पाए, गुरू हयगृव आचार्यले १३९० मत पाए । शिष्यले गुरूलाई ११४० मतान्तरमा जिते । विजय जुलुसले वडा परिक्रमा गर्ने कार्यक्रम तय गर्दै गर्दा आफ्ना गुरू र अन्य दलका प्रतिस्पर्धीलाई सम्झेको बताउँछन् शुसिल । “सबैलाई खुब सम्झिरहे, चुनावको दिनसम्म म एमालेको प्रतिनिधि थिएँ, अब म वडाको प्रतिनिधि हुं, हामीबिचको प्रतिस्पर्धा चुनावकै दिनबाट सकियो” उनले भने ।
घिमिरेले आफ्नो जितलाई वडा निबासी सबैको जित भनेका छन् । ” अबको ५ बर्ष काम गरेर वडावासीको मन जित्न सकेभने मात्र मेरो जित हुनेछ, अहिलेको जित मेरो हैन वडावासीको हो” उनले भने।
बिजय जुलुस सहित गुरू हायगृवको घरमा पुगेका घिमिरेलाई हायगृवले टिका लगाउंदै सफल कार्यकालको शुभकामना दिए । गुरूको आशिर्वाद पाएपछि शुसिलले कांधैमा बोके गुरूलाई । “
शुसिल मेरो चेला हो, उसले हाम्रो वडाको लागि राम्रो काम गर्छ,म ढुक्क छु” हयगृवले भने “आफूलाई उछिनेर मेरै चेला विजयी भएकोमा खुसि छु ।” प्रतिस्पर्धी घरैमा भेट्न आउँदा टिका लगाएर शुभकामना दिंदै हयगृवले फराकिलो मन देखाए भने,शुसिलले गुरूप्रतिको सम्मान र मर्यादा प्रकट गरे । कार्यकर्ताले तालि,सिठ्ठि र हुटिङ गरे,माहोल एकाएक भावुक बन्यो ।
चुनावी मैदानमा हारजित जे भए पनि टोलको विकासमा सबैको समन्वय र सहभागिताले मात्रै स्थानीय तहको प्रतिनिधित्वको अर्थ राख्ने उनले बताए । शुसिललाई हयगृवले हेटौंडा ५ को बालज्योती माविमा प्राथमिक तह अध्यापन गराएका थिए ।
हेटौंडा ५ मा एमालेको टिम नै विजयी भएको छ ।

