मकवानपुर । स्थानीय तह सदस्य निर्वाचन २०७९ अन्तर्गत मकवानपुरमा महिला जनप्रतिनिधि पहिलो पटक वडाध्यक्षमा २ जना महिला निर्वाचित भएका छन् ।
मकवानपुर जिल्लामा रहेकाे १०२ वटा वडाहरुमा हालसम्म २ जना मात्रै महिला वडा अध्यक्षकाे रुपमा निर्वाचित भएका छन् । हेटाैडाकाे एउटा वडामा महिलालाई अध्यक्षकाे उम्मेदवार बनाइएकाेमा मत गणना बाँकी रहेकाे छ ।
मकवानपुरको बकैया गाउँपालिका वडा नंबर ५ र १० मा गठबन्धनबाट वडा अध्यक्ष उम्मेदवार बनेका कांग्रेसका २ नेतृ कमला वाईवा र लक्ष्मी जिम्बा विजयी भएर जिल्लामा इतिहास रचेका छन् ।
वडाध्यक्ष निर्वाचित जिम्बा र वाईवा दुबै जना २०७४ सालको स्थानीय तह निर्वाचनमा बकैया गाउँपालिकामा क्रमशः अध्यक्ष र उपाध्यक्षको उम्मेदवार थिए । तर दुबैले चुनाव हारेका थिए ।
गत निर्वाचनमा गाउँपालिका उपाध्यक्षमा काँग्रेसको तर्फबाट उम्मेदवार बनेकी वाईवालाई पछाडि पार्दै एमालेको तर्फबाट उम्मेदावार बनेकी सरला बोलखे बिजयी भएकी थिइन् ।
भने राप्रपाको तर्फबाट पालिका अध्यक्षको उम्मेदवार बनेकी जिम्बालाई काँग्रेसको तर्फबाट उम्मेदवार बनेका दामोदर खनालले जितेका थिए ।
यस पटक दुबैजनाले नेपाली काँग्रेसबाट वडा ५ र १० को अध्यक्ष जितेका हुन् । राप्रपाबाट कांग्रेस प्रवेश गरेकी जिम्बालाई यस पटक गठबन्धनको साथ थियो । बकैया ५ वडाबाट अध्यक्षको टिकट पाएपछि उनले पालिका हाँक्ने याेजनाले अब वडा बनाउने बताएकी थिइन ।
अध्यक्ष र उपाध्यक्षको उम्मेदवार बनिसकेको भएपनि वडास्तरबाटै विकासको बाटो पहिल्याउन आफूहरु लागिपरेको उनीहरुले बताए । बिजयी भएपछि पार्टीभन्दा माथि उठेर आफ्नो गाउँ र टोलको बिकासमा लागिपर्ने जिम्बाले बताइन् ।
यता हेटौंडा उपमहानगरपालिकाको वडा ११ मा उम्मेदवार बनेकी अर्की महिला जुना दाहालको भने मत गणना बाँकी छ ।

